अर्थ

लगानी सम्मेलन चैतमा

काठमाडौं - लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश दिन सरकारले फेरि लगानी सम्मेलन गर्ने भएको छ। आगामी चैत १५–१६ गते उक्त सम्मेलन हुन लागेको हो। उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने भएका छन्।

नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले लगानी सम्मेलन आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। लगानी सम्मेलनमा विभिन्न मुलुकका सम्भावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली संघ, निजी क्षेत्र, विषयविज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च पदाधिकारीको सहभागिता हुनेछ।

लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना तथा निजी क्षेत्रको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो। दुई दिनचल्ने सम्मेलनमा नेपालमा लगानीको वातावरण, लगानीसँग सम्बन्धित नीतिगत एवं प्रक्रियागत सुधार, लगानीका सम्भाव्य क्षेत्र र लगानीका लागि केही परियोजना प्रस्तुत गरिने छ। उक्त अवसरमा नेपालमा लगानीका अवसर, आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत डिजिटल अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तिर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि, तथा वनजन्य उत्पादनमा लगानीको अवसर, नेपालमा लगानीको अनुभव, लगानीमा अन्तर्राष्ट्रिय अनुभव लगायत विषयमा छलफल हुने अर्थमन्त्री खतिवडाले बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन उद्देश्य प्राप्ति गर्न उपलब्ध स्रोत–साधनको उपयोग र विश्वमा प्रवद्र्धित नयाँ प्रविधिको प्रयोग गर्दै जानु अनिवार्य भएको उनको भनाइ छ। ‘मुलुकमा प्राकृतिक स्रोत र साधन पर्याप्त रहे तापनि तिनको प्रभावकारी उपयोगको लागि स्वदेशी लगानीका अतिरिक्त वैदेशिक लगानी तथा प्रविधि आवश्यक देखिन्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘यस सम्मेलनको उद्देश्य यसअघि २०७३ सालमा गरिएको लगानी सम्मेलनपछि लगानीको वातावरणमा भएका सुधार, लगानीका लागि सम्भाव्य देखिएका नयाँ क्षेत्र तथा बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तन समेतमा अद्यावधिक हुने र यसअघि समझदारीपत्रमा हस्ताक्षर भएका आयोजनालाई कार्यान्वयनतर्फ लैजान सहयोग पुर्याउने रहेको छ।’

अघिल्लो लगानी सम्मेलनपछि विभिन्न उपलब्धि हासिल भएको जानकारी पनि अर्थमन्त्री खतिवडाले दिए। ‘उक्त सम्मेलनपछि लगानीको वातावरण सुधार गर्न सरकारले गर्नुपर्ने कामबारे स्पष्ट सुझाव आएका र कानुन तथा नियमहरु परिमार्जन गरिएका छन्,’ उनले भने, ‘करिब दुई सय ७५ अर्बको लगानी हुने परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएका र तीमध्ये अधिकांश जलविद्युत् परियोजना छन्। साथै २३ वटा कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनमा चाख देखाएका र तीमध्ये केहीले परियोजना प्रस्ताव समेत पेस गरिसकेका छन्। हाल देशमा सञ्चालनमा रहेका परियोजनाहरुले समेत क्षमता विस्तार गरिरहेका छन्।’

यसअघि नै सम्मेलनको तयारी लगायत काम गर्न लगानी बोर्डको बैठकले अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष खतिवडाको संयोजकत्वमा राष्ट्रिय योजना अयोगका उपाध्यक्ष, सचिवहरु, निजी क्षेत्रका प्रतिनिधिहरु रहेको निर्देशक समिति समेत गठन भएको छ। दुई वर्षअघिको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो। त्यसबेला प्रतिबद्धता जनाएको भन्दा निकै कम रकम लगानी भएको थियो।

कृषिको व्यावसायिकीकरण, ऊर्जा, सडक, रेल, हवाई, औद्योगिक र सूचना प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखेर सम्मेलन गर्न लागिएको अर्थमन्त्री खतिवडाले बताए। लगानी बोर्डलाई शक्तिशाली र प्रभावकारी बनाउन त्यसको ऐन छिट्टै मन्त्रिपरिषद् लैजाने पनि उनले बताए। सार्वजनिक खरिद ऐन, कम्पनी ऐन, विदेशी विनिमय ऐन, औद्योगिक व्यवसाय ऐन र नियमावली, विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन संशोधनका क्रममा रहेको जानकारी पनि अर्थमन्त्री खतिवडाले दिए। हिउँदे अधिवेशनका बेला सबै कानुन संसदमा पेस गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।

नेपालले लिएको आर्थिक समृद्धिको दीर्घकालीन लक्ष्यलाई सहयोग पुर्याउन नेपालस्थित विदेशी कूटनीतिक नियोग, विकास साझेदार, निजी क्षेत्र, गैरआवासीय नेपाली संघ लगायत सबैको सहयोग आवश्यक रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।

चार खर्बभन्दा बढी लगानी आयो
सरकारले दुई वर्षअघि आयोजना गरेको लगानी सम्मेलनबाट चार खर्ब रुपैयाँभन्दा बढी लगानी आएको छ। उक्त सम्मेलनमा १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो। तर, त्यसबेला प्रतिबद्धता जनाएको भन्दा निकै कम रकम आएको हो। प्रतिबद्धताको २५ प्रतिशतभन्दा बढी लगानी आएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।

प्रकाशित: १२ पुस २०७५ १५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App