अर्थ

माथिल्लो चाकु अन्तिम चरणमा, शेयर निष्कासन तयारी

सिन्धुपाल्चोक - निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षणकाे तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत आयोजनाले साधारण शेयर निष्कासनको तयारी थालेको छ।

आगामी फागुनभित्र उत्पादन थाल्ने तयारीमा जुटेको आयोजनाले सर्वसाधरणका लागि २५ प्रतिशत शेयर जारी गर्न लागेको हो। शिवश्री हाइड्रो पावर लिमिटेडको अगुवाईमा सिन्धुपाल्चोकको फूल्पिङकट्टी र मार्मिङमा निर्माणाधीन आयोजनाको शेयर विक्री प्रवन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पाएको छ। 

‘डेढ–दुई साताभित्रै साधरण सेयर जारी गर्छौँ,’ कम्पनीका प्रवन्ध निर्देशक विष्णुबहादुर खत्रीले नागरिकसँग भने। नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि साधरण सेयर जारी गर्न कम्पनीलाई बाटो खुलेको हो। बोर्डले मंगलबार विवरणपत्र प्रकाशनका लागि स्वीकृति दिएको थियो।

कम्पनीका प्रवन्ध निर्देशक खत्रीले १४ करोड ७६ लाख ४० हजार रुपैयाँको १४ लाख ७६ हजार चार सय कित्ता साधारण शेयर निष्कासन गर्ने बताए। उनका अनुसार निष्कासन गर्न लागिएको शेयरमा १० प्रतिशत सिन्धुपाल्चोकबासी र १५ प्रतिशत जिल्लावाहेकका सर्वसाधरणलाई छुट्याइएको छ। ‘पहिलो चरणमा जिल्लावासी र दोस्रोमा अन्यलाई शेयर जारी गर्ने तयारी छ,’ खत्रीले भने।

विभिन्न प्राकृतिक विपत्ति खेप्दै आएको आयोजना निर्माण थालेको साढे ६ वर्षमा सम्पन्न हुन लागेको हो। २०६९ साउन ३० बाट उत्तरी सीमा नाका भोटेकोसी गाउँपालिकाको चाकु खोलामा आयोजनाको निर्माण थालिएको थियो। २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भूकम्प, २०७३ असारको भोटेकोसी बाढीले आयोजना सक्ने लक्ष्य लम्बिएको थियो। त्यस्तै २०७४ मा लार्चा पुल भाँचिदा तथा गत बर्खामा बाह्रविसेको पुल बग्दा आयोजना निर्माणमा थप ढिलाइ भएको कम्पनीले जनाएको छ। दुई वर्षअघि नै आयोजना सक्ने लक्ष्य थियो।

प्रतिमेगावाट २० करोड रुपैयाँ लागतमा आयोजना निर्माण सम्पन्न चरणमा पुगेको कम्पनीका सल्लाहकार तथा संस्थापक अध्यक्ष उमेश कसजूले बताए। ‘लगातारको प्राकृतिक प्रकोप र त्यसले निर्माणमा भएको ढिलाइका बाबजुद पनि त्यति लागतमा आयोजना बन्नुलाई सफलता नै ठानेका छौँ,’ उनले भने। उनका अनुसार आयोजनाबाट उत्पादिन विद्युतलाई आगामी फागुनभित्र परीक्षण र चैतदेखि व्यवसायिक उत्पादनमा लैजाने तयारीसाथ कम्पनीले काम गरिरहेको छ।

उत्पादित विद्युत कम्पनीको आफ्नै २२ किमि लामो प्रशारणलाईन मार्फत लामोसाँघुमा रहेको विद्युत प्राधिकरणको सवस्टेसन हुँदै नेसलन ग्रीडमा जोडिने छ। हाल तार टाँग्ने काम भइरहेको प्रशारणलाइनको आधा कार्य सकिएको कसजूले बताए। आयोजनाको साढे दुई किमि भूमिगत सुरुङ छ। यो सुरुङ दुई महिनाअघि ‘ब्रेक थ्रु’ भएको थियो। बाँधस्थलबाट भूमिगत सुरुङ र एक हजार तीन सय ५० मिटर पेनस्टक पाइप हुँदै बग्ने पानी आठ सय १५ मिटर उचाइको हेडवक्सबाट उत्पादन गृहमा खसालिने छ।

स्वदेशी पूँजी लगानी गरिएको आयोजनामा ७० प्रतिशत बैंक ऋण रहेको कम्पनीले जनाएको छ। सिटिजन बैंकको अगुवाईमा आयोजनामा विभिन्न १२ बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गरेका छन्। कम्पनी र विद्युत प्राधिकरणबीच २०६७ मा विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो। 

प्रकाशित: १२ पुस २०७५ १४:१३ बिहीबार

चाकु_खोला जलविद्युत_आयोजना सिन्धुपाल्चोक