अर्थ

नेपाल–भारत व्यापार सहजीकरण मेरै पहलमाः योगी आदित्यनाथ

काठमाडौं– भारतको उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथले आफ्नो प्रदेश र नेपालबीचका सीमा नाकामा उठ्ने गरेका व्यापार समस्या सहजीकरण गर्न आफैले नेतृत्व लिने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको १९ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा उनले यस्तो आश्वासन दिएका हुन्।

नेपाल र उत्तरप्रदेश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन एफएनसीसीआई प्रतिनिधिमण्डल यतिखेर उत्तर प्रदेशको भ्रमणमा छ। महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न आफ्नो सरकारले काम थालेको बताए।

सोमबार साँझ मुख्यमन्त्रीको कार्यालय लखनउमा भएको भेटमा उनले भने, ‘भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म म आफै पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्नेछु।

नेपाल भारत बीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नु आवश्यक छ।’ गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने उनको भनाई थियो।

भेटका क्रममा महासंघ अध्यक्ष राणाले दुई मुुलुकबीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण रहने बताएकी थिईन्।

‘खासगरी नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र, विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा हामीले उत्तर प्रदेश सरकारको सहयोगको अपेक्षा गरेका छौं,’अध्यक्ष राणाले भनिन्।

प्रकाशित: १० पुस २०७५ ०७:०९ मंगलबार

योगी_आदित्यनाथ आर्थिक_व्यापारिक_सम्बन्ध नेपाल_उद्योग_वाणिज्य_महासंघ भवानी_राणा