अर्थ

कोलकातामा रुचाइयो नेपाली सुन्तला

पाँचथरको कुरुम्बामा मर्दै गरेको सुन्तलाको बोट। तस्बिर : गिरिराज÷नागरिक

पाँचथर - केह दिनअघि भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारतका विभिन्न ठाँउ, भुटान, बर्माका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा प-यो। भारतका विभिन्न ठाँउबाट ल्याइएका सुन्तला नेपालका भन्दा तुलनात्मक रुपमा सस्ता पनि थिए। तर भीडभाड नेपाली स्टलमा बढी देखिन्थ्यो।

रसिला, मिठा नेपाली सुन्तला भएको पारखीहरुको टिप्पणी थियो। नेपालका विभिन्न ठाँउबाट लगिएका सुन्तला फर्काएर ल्यानुपरेन। नेपाली सुन्तलाले प्रशंसा पाएपछि खुसी सहभागि किसान तथा अन्य सरोकारवाला खुसी हुनु स्वभाविक हो। तर यो खुसि टिक्ने खालको भने भएन। बगानमा सुन्तला मासिन थालेपछि किसानमाझ चिन्ता छ। एकातिर सुन्तलामा रोगले उत्पादनमा गिरावट हुदै छ भने अर्को तीर खेतीपनि हुनुपर्ने गरी विस्तार हुन सकेको छैन। ‘यहाँ त प्रशंसा बटुलियो तर सुन्तला मासिने क्रममा छ। रोगले सताउँदै गयो। यस्तै हो भने आगामी दिनमा सुन्तलाको पहिचान नै गुम्ने अवस्था आउन सक्छ,’ सुन्तलाका लागि चर्चित इलामको सलकपुरबाट स्टल राख्न पुगेका किसान किरण तामाङले भने, ‘सुन्तला समस्याग्रत बन्दै छ।’ यस्तै किसिमको चिन्ता नेपालबाट पुगेका सुन्तला किसान तथा व्यवसायीको थियो।

तामाङले भने झै प्रदेश १ मा विगतमा सुन्तला खेती हुने ठाँउमा उत्पादन घट्दै गएको छ। कतिपय ठाँउमा बगान नै मासिएको पाइन्छ। सुन्तला खेती हुने प्रदेश १ का अधिकांश पहाडी जिल्लामा विगतमा सुन्तला हुने ठाँउमा नभई मथिल्लो क्षेत्रमा सुन्तला खेती हुन थालेको छ। भारतमा नेपाली सुन्तला रुचाईएपनि यहाँका बजारमा भारतकै सुन्तला देख्न पाईन्छ। सुन्तला खेती हुने पहाडका जिल्लामा पनि भारतीय सुन्तला आईपुग्छन्। नेपाली सिजन सकिए लगत्तै बजारमा भारतीय सुन्तलामात्र भेटिने अवस्था छ। प्रदेश १ मा कति क्षेत्रमा सुन्तला खेतीको तथ्याङकिय अवस्थाको बारे कृषि विकास निर्देशनालय १ नम्बर प्रदेशसँग विवरण छैन। नत जिल्लामा रहेका कृषि ज्ञान केन्द्रसँग छ।

तथ्याङक संकलन गर्ने काम थालिएको निर्देशक वेनु प्रसाई जानकारी दिए। ‘नेपाली बजारमा भारतीय सुन्तलाहरु राम्रै गरी बिक्ने गरेका छन्। हाम्रो उत्पादन कम छ। स्टोरेजहरु पनि छैनन। रोगकिराको समस्याका साथै जलवायु परिवर्तनको असर परेको हुन सक्ने देखिएको छ’ उनले नागरिकसँग भने ‘बगान व्यवस्थापन गर्दा केहि सुधार हुन सक्छ।’

पाँचथरको फिदिम नगरपालिका–२ को सम्दिन सुन्तलाका चर्चित ठाँउ थियो। अहिले यहाँ सुन्ताला देख्न पाईदैन। यहाँ किसान भीम ढुंगानाले एक दशक डेढलाख रुपैँया लिएर बगानै सुन्तला बेच्ने गर्थे। अहिले उनको बगानै सखाप भएको छ। यस्तै समस्या सुन्तला खेती हुने प्रदेश १ का पाँचथर, इलाम, ताप्लेजुङ, तेह्थुम, धनकुटा, भोजपुर लगायतका जिल्लामा देखिएको छ।

प्रदेश अन्तर्गतको कृषि ज्ञान केन्द्रले काम सुरु गरेको छैन। स्थानिय तहमा रहेको कृषि शाखापनि नाममात्रै को अवस्था छ। बोट मर्ने, गोभारा लाग्ने, फल कममात्र फल्ने समस्या देखिएको ताप्लेजुङ फुङलिङ नगरपालिका– २ का किसान नरेन्द्र बस्नेत बताउँछन्। औल तिर हुने सुन्तलाको उत्पादन लेक तिर हुन थालेको किसानहरुको भनाई छ।
भोजपुरका अगुवा किसान विष्णु प्रसाद अधिकारीका अनुसार यो बर्ष सुन्तला उत्पादनमा भारी गिरावट आयो। एकदम पतलो  र सानो आकारका सुन्तलामात्र फलेका छन्। ‘पहेलो पानी परेकाले यस्तो भएको हुन सक्ने अनुमान छ। सरकारले हेरेको छैन’ अधिकारीले भने ‘सुन्तलाका पकेट क्षेत्रमानै यसप्रकारको समस्या छाएको छ।’ प्रधामन्त्रि कृषि कार्यक्र मार्फत पनि सुन्तला किसानलाई सहयोग नभएको उनको गुनासो छ।

रोग किराको नियन्त्रण, नयाँ खेती विस्तार, अनुदान लगायतका काम नहुदा किसान निरास बन्दै गएको अधिकारीको भनाई छ। विगतमा सुन्तला हुने ठाँउमा सुन्तला हुन छाडेको छ। व्यवसायि रुपमा सुन्तला खेती विस्तार गर्नुका साटो निरासाको सञ्चार भएको पाईन्छ। सुन्तलामा विभिन्न किसिमका समस्याले च्याप्न थालेको पाँचथरको कुरुम्बाका किसान इन्द्रमाया लावतीले बताईन। अहिलेसम्म समस्यासँग जुधे पनि भोलिका दिनमा के हुने हो भन्ने समस्या रहेको उनले सुनाए।

कुरुम्बा चेतराज लावतीले केहि वर्ष अघिसम्म पाँच लाख रुपैयाँसम्म सुन्तलाबाट आम्दानी लिन्थे। तर अहिले बोटनै मासिएको सुनाए। अन्तरीक माग थेग्ने गरीनै सुन्तला उत्पादन हुन सकिरहेको छैन। उत्पादन वृद्धि र स्टोरको व्यवस्थापन हुन जरुरी देखिएको निर्देशक प्रसाई बताउँछन्।

प्रकाशित: ८ पुस २०७५ ०३:०७ आइतबार

कोलकाता हिमालयन_सुन्तला_पर्यटन_महोत्सव सुन्तला