अर्थ

कृषिलाई उच्च प्राथमिकता दिन माग

मकवानपुर - कृषि र कृषकलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने माग गर्दै राष्ट्रिय कृषक समूह महासंघ नेपालको चौथो राष्ट्रिय परिषद भएको छ। हेटौंडामा मंगलबार भएको कार्यक्रममा ५३ जिल्लाका एकसय जना किसान प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गरेपछि प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नेपाली किसान बजार र प्रविधिबारे जानकार हुनुपर्ने बताए। ‘कृषिमा अहिलेसम्म पुँजीवाद छिरेको छैन,’ उनले भने, ‘पुँजीवादमा प्रवेश नगरी कृषिको विकास सम्भव छैन।’

कृषिबाहेक अन्य क्षेत्रमा लगानी बढेको बताउँदै उनले कृषिमा लगानी र प्रविधिको अभाव रहेको बताए। प्रदेशको प्रत्येक जिल्लामा शीत भण्डार निर्माणका लागि बजेट व्यवस्था गरेको बताउँदै उनले किसानलाई प्रविधि सिकाउनु अति आवश्यक रहेको बताए।

‘किसान र राज्यबीच कृषक महासंघले पुलको रुपमा भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘देशका लागि योगदान पु¥याएका किसानले पनि पेन्सनको कुरा उठाउनु पर्छ।’ प्रदेशले कृषिसहित पर्यटन, जलविद्युत्लाई प्राथमिकतामा राखेको जिकिर गर्दै उनले कृषिको परम्परा निकै पुरानो रहेकाले सामूहिक रुपमा गर्नुपर्नेमा जोड दिए। ‘किसानलाई पछाडि पार्दै, किसानले गरेको उत्पादनलाई हेप्ने र किसानले उत्पादन गरेको उत्पादकत्वलाई प्रयोग नगरे देशमा समृद्धि आउँदैन,’ उनले भने।

प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले कृषिमा यान्त्रीकरण गर्न योजना बनाएको बताउँदै बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको दाबी गरे। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उत्तम अधिकारी, मकवानपुर अध्यक्ष महानन्द सापकोटा लगायतले स्थानीय तहदेखि प्रदेश र संघस्तरमा कृषिका लागि बजेट विनियोजन र कृषि नीतिका पैरवी गर्ने बताउँदै कृषक संगठन विस्तारलाई तीव्रता दिने बताए।

कार्यक्रमको बन्द सत्रमा महासंघका महासचिव नवराज बस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रीता वस्ताकोटीले आर्थिक प्रतिवेदन सर्वसहमत रुपले पारित गरेको छ।

प्रकाशित: ४ पुस २०७५ ०२:२४ बुधबार

कृषि कृषक प्राथमिकता