अर्थ

सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाई, उप्रेतीले विदा लिए

ललितपुर– राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक के.बी. उप्रेती प्रवन्धकीय जिम्मेवारीबाट हटेका छन्। बैंकको सञ्चालक समितिको मंगलवार सम्पन्न बैठकबाट उनले प्रबन्धकीय जिम्मेवारीबाट विदा लिएका हुन्। सहकारी बैंकको विनियम बमोजिम २०७० साल मंसिर २५ गते सम्पन्न वैठकले बैंकका सञ्चालक उप्रेतीलाई महाप्रवन्धकको समेत जिम्मेवारी बहन गर्ने गरी प्रवन्ध सञ्चालकको जिम्मेवारी दिएको थियो।

सहकारी ऐन २०७४ को दफा ४१ (४) मा २ करोड भन्दा बढी कारोबार भएका सहकारी संघ संस्थाका सञ्चालकहरु कार्यकारी प्रमुख बन्न नपाइने व्यवस्था रहेको छ। सहकारी ऐनमा भएको व्यवस्थालाई मध्ये नजर गरी उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी छोडेर सञ्चालकको जिम्मेवारीमा नरहेका हुन्।

बैंकको विनियममा निर्वाचित सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष र एक जना प्रवन्ध सञ्चालक बनाउने व्यवस्था अनुसार पहिलो, दोस्रो र तेस्रो कार्यकालमा उप्रेतीले प्रवन्ध सञ्चालकको जिम्मेवारी बहन गरेका थिए।

बैठकले प्रवन्धक सञ्चालकले गर्दै आएको जिम्मेवारी बहन गर्नका लागि नायव महाप्रवन्धक बद्रीकुमार गुरागाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। विगत १७ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशिल चाटर्ड एकाउण्टेण्ट गुरागाई यस भन्दा पहिला पनि बैंकको नायव महाप्रवन्धकका रुपमा कार्यरत रहिसकेका छन्। वित्तीय क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका गुरागाई हाल नेपाल चाटर्ड एकाउण्टेण्ट संस्था अन्तर्गतको गुणस्तर अनुगमन बोर्डका सदस्य समेत रहेका छन्।

बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको वैठकले बैंकको १५ औं वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिको निर्वाचनका लागि इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग गर्ने निर्णय गरिएको बैंकका सञ्चालक एवं सूचना तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिए।

बैंकको पछिल्लो विनियम अनुसार अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने गरी १५ जनाको सञ्चालक समिति र ३ जनाको लेखा समितिको व्यवस्था गरेको छ। ७ वटा प्रदेशबाट १/१ जना, ३३ प्रतिशत महिला सहित १४ जना सञ्चालक रहने व्यवस्था रहेको छ।

बैठकले साधारणसभाबाट बैंकको सञ्चालक समिति र लेखा समितिको निर्वाचन सम्पन्न गर्नका लागि बैंकका कानुनी सल्लाहकार रामचन्द्र सिंम्खडाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उपसमिति चयन गरेको छ।

प्रकाशित: ३ पुस २०७५ १३:४९ मंगलबार

सहकारी_बैंक केबी_उप्रेती बद्रीकुमार_गुरागाई