अर्थ

तामाकोसी अायाेजनाबाट भारतीय ठेकेदार हटाउने तयारी

दोलखा- राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गरिरहेको भारतीय ठेकेदार कम्पनीलाई सरकारले हटाउने तयारी थालेको छ। 

दोलखाको लामाबगरमा निर्माणाधीन चार सय ५६ मेगावाटको आयोजना निर्माणमा संलग्न चार विदेशी ठेकेदार कम्पनीमध्ये हाइड्रो मेकानिकल तर्फको जिम्मा पाएको भारतीय कम्पनी टेक्सम्याको इन्जिनियरिङलाई हटाउन लागेको हो। 

टेक्स म्याको तयारी पेनस्टक पाइप जडान कार्यमा चरम ढिलासुस्ती गरेका कारण आयोजना नै पछाडि धकेलिने अवस्था आएपछि उसलाई ठेक्का जिम्मेवारीबाट हटाएर त्यहीं कार्यरत अर्को विदेशी ठेकेदार कम्पनीमार्फत बाँकी काम सक्ने तयारीमा ऊर्जा मन्त्रालय लागेको छ। 

विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीमार्फत निर्माण भइरहेको आयोजनाबाट आगामी असारदेखि बिजुली बाल्ने लक्ष्य सरकार र प्राधिकरणको छ। तर, भारतीय कम्पनीको ढिलाइले निर्माण अवधि असारबाट लम्बिन सक्ने भएपछि ऊर्जामन्त्री वर्षमान पुनले अघिल्लो साताको सोमबार प्राधिकरण, आयोजना र भारतीय कम्पनी टेक्सम्याकोका अधिकारीलाई मन्त्रालयमा बोलाएर ढिलासुस्ती प्रति असन्तुष्टी जनाउँदै ठेक्का तोड्ने चेतावनी दिएका थिए। उनले आयोजनाको बाँकी काम गर्न सक्ने वा नसक्ने स्पष्ट खाकासहित एक साताभित्र जवाफ दिन टेक्सम्याकोका अधिकारीलाई आग्रह गरेका थिए। 

टेक्सम्याकोकै कारण तामाकोसीमा ढिलाइ भएको भन्दै सरकारी तहबाटै मन्त्रालयले कडा ‘एक्सन’ लिने तयारी गरेपछि ऊर्जामन्त्री पुनको उपस्थितिमा भएको उक्त बैठकमा टेक्सम्याको इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत गिरीशचन्द्र अग्रवाल आफैं भारतबाट काठमाडौं आएका थिए। 

आयोजना स्रोतका अनुसार काम नगर्ने ठेकेदार कम्पनी हटाएरै भए पनि आयोजनाको बाँकी काम समयमै सिध्याउने र तोकिएकै समयमा बिजुली बाल्ने मन्त्रीको समेत जोडबलपछि आयोजनाले काम गर्न सक्ने या नसक्ने सोको जवाफ दिनु भन्दै टेक्सम्याकोलाई पत्र लेखेको छ। ‘अब आलटाल गर्न सकिने अवस्था छैन त्यसैले तोकिएको समयमा त्यस कम्पनीले काम सिध्याउने गरी गर्न सक्नुहुन्छ या हुन्न ? हुन्न भने त्यस कम्पनीकोे काम सहज रुपमा यसअघि नै योग्य भइसकेको अर्को कम्पनीमार्फत गरिने गरी सहजीकरण गर्नुस् भनेर पत्र पठाएका छौं,’ आयोजना स्रोतले भन्यो, ‘पत्रको जवाफ एक–दुई साताभित्र आइपुगेलगत्तै निर्णय हुन्छ।’ 

टेक्सम्याकोको जवाफ आएलगत्तै निर्णय गर्ने तयारी आयोजनाको छ। उसले बाँकी काम सक्न सहजीकरण गर्ने गरी जवाफ दिएमा आयोजनामै कार्यरत अस्ट्रियन कम्पनी एन्ड्रिजज हाइड्रोलाई सुम्पने तयारी आयोजनाको छ। सहजीकरण नगरे ठेक्का तोडेर भए पनि एन्ड्रिजलाई दिने तयारी मन्त्रालयको छ। तर ठेक्का तोड्ने प्रक्रियाका लागि ३ महिनासम्म लाग्नसक्ने भएकाले आयोजनाको निर्माण अवधि अझै पछि धकेलिन सक्ने छ। 

आयोजनाका अधिकारीका अनुसार टेक्सम्याकोले बाँकी कामबाट आफैंले हात झिकेमा यसअघि सुरुको ठेक्का प्रक्रियामा योग्य भइसकेको एन्ड्रिज हाइड्रोलाई छरितो प्रक्रियाबाट कोटेसनमा बाँकी काम सुम्पन सकिन्छ। आयोजनामा हाइड्रोमेकानिकलको ठेक्का लाग्दा टेक्सम्याकोसहित एन्ड्रिज र जर्मन कम्पनी नोयल गरी तीन कम्पनीहरु योग्य भएका थिए।

स्पष्ट खाकाको प्रतिक्षामा छौं
आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले टेक्सम्याकोलाई चिठी लेखिएको जानकारी दिए। ‘चिठी पठाएको छौं, हप्ता दश दिनभित्र जवाफ आउछ भन्ने प्रतिक्षामा छौं,’ श्रेष्ठले नागरिकसँग भने, ‘हाम्रो समय तालिकाअनुसार जाने गरी कामको खाका पेस गर्न सक्नुभएन भने अर्कै प्रक्रियामा जान बाध्य हुन्छौं,’ उनले भने। 

श्रेष्ठले पेनस्टकको काम समयमै सिध्याउन सकिए आगामी असारसम्म परीक्षण उत्पादन गर्न सकिने बताए। ‘असारमा जसरी पनि बिजुली बाल्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘हाइड्रो मेकानिकलतर्फको ढिलासुस्तीले देखिएको समस्या तुरुन्तै सामाधान गर्न सके अझै पनि परीक्षण उत्पादन तोकिएको मितिमा शुरु गर्न सक्छौं भन्नेमा ढुक्क छौं।’ 

उनले आयोजनाका लागि आवश्यक पाइप कतिपय नेपालतर्फ आइसकेको र केही मात्र भारतमा बनिरहेकाले ढुवानी तुरुन्तै गर्न सके कामले तीव्रता पाउने दाबी गरे। आयोजनाका अधिकारीका अनुसार टेक्सम्याकोले सुनकोसी र वीरगन्जमा ल्याएर कतिपय पाइप थुपारेको छ।

प्रकाशित: २८ मंसिर २०७५ ०४:०७ शुक्रबार

तामाकोसी_जलविद्युत् आयोजना विदेशी_ठेकेदार