अर्थ

जलविद्युत् आयोजनाद्वारा ११ किमि सडक निर्माण

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले ११ किलोमिटर सडक निर्माण गरेको छ। प्रभावित क्षेत्रको विभिन्न बस्तीमा सडक सञ्जाल विस्तार गर्ने योजना अनुरूप आयोजनाले थुमन जोड्ने सडकको निर्माण सम्पन्न गरेको हो। 

रोङ्गा खोलादेखि थुमनसम्मको सडक निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ। आयोजनाले थुमन, दाहालफेंदी र मेन्दोगाउँमा करिब १८ किमि सडक निर्माण गर्ने लक्ष्य राखेको थियो। दाहालफेंदी जोड्ने पाँच किमि सडक र मेन्दोगाउँ गाउँ जोड्ने दुई किमि सडकको निर्माण कार्य सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत तेज साउदले बताए। 

‘स्थानीयको माग र आवश्यकता अनुसार हामीले विकास निर्माणको काम गरेका छौं,’ उनले भने, ‘यो काम ‘सामाजिक उत्तरदायित्वभित्र पर्छ।’ टिमुरे र थुमन यो आयोजनाको प्रभावित क्षेत्र हो। आयोजनाका अनुसार टिमुरेमा पाँच सय ५० मिटरको रिङरोड निर्माण गरिएको छ। 

आयोजनाले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्नुका साथै ट्याक्टर समेत खरिद गरिसकेको छ। खरिद गरिएको ट्याक्टर हस्तान्तरणको तयारीमा रहेको उनले बताए। 

आयोजनाको ७० प्रतिशत काम सम्पन्न
२०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको करिब ७० प्रतिशत काम सकिएको छ। आयोजनाको हेडरेस टनेलको खन्ने काम सकिएको छ। अहिले हेडरेस टनेलमा कंक्रिट लाइनिङको काम भइरहेको आयोजना प्रमुख छवि गैरेले बताए। हेडवक्र्स निर्माण, पावर हाउस निर्माण र टेलरेसको काम भइरहेको छ। 

२०१९ डिसेम्बरसम्ममा तीनवटै युनिटबाट विद्युत् उत्पादन गर्ने आयोजनाले लक्ष्य लिएको छ। यो आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सवा करोड आम्दानी हुनेछ। सन् २०१७ अगस्तमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको आयोजनाका जनसम्पर्क अधिकृत साउदले बताए। भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए। 

निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ। आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ। 

प्रसारण लाइन निर्माण सुरु
आयोजनाका अनुसार विद्युत् गृहदेखि चिलिमे हबसम्म प्रसारण लाइन विस्तारको काम सुरु भएको छ। ‘१० किमि प्रसारण लाइन निर्माणको काम सुरु भएको छ,’ आयोजना प्रमुख गैरेले भने, ‘आयोजनाबाट उत्पादन भएको १३२ केभी विद्युत् प्रसारण लाइनमा जोडिने छ।’ टिमुरेको तातोपानीदेखि गोल्जुङबेंसीसम्म लाइन विस्तार गरिने छ। मुडबरी एन्ड जोसी कम्पनीले प्रसारण लाइन निर्माण गर्नेछ। 
 

प्रकाशित: २८ मंसिर २०७५ ०४:०० शुक्रबार

रसुवागढी_जलविद्युत्_आयोजना सडक_निर्माण