अर्थ

‘वाई १२–ई’ जहाज थन्किएको थन्कियै

काठमाडौं – नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष बनेर आएपछि मदन खरेलले ‘वाई १२–ई’ सिरिजका चारवटै चिनियाँ जहाज सञ्चालनमा ल्याउन परीक्षण उडान गराए पनि दुईवटा जहाज थन्किएको थन्कियै छन्।

दुर्गम भेगको लागि उडान गर्ने भन्दै ल्याइएका १७ सिटका जहाज पाइलट अभाव लगायत कारण देखाएर विमानस्थलमै थन्क्याएर राखिएको थियो। कार्यकारी अध्यक्ष बनेर खरेल आएपछि असोजको पहिलो साता ‘वाई १२–ई’ सिरिजका चारवटै जहाजबाट हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा र जुम्लाको जुम्ला, सोलुखुम्बुको लुक्ला लगायतका विमानस्थलमा सफल परीक्षण उडान गराइएको थियो।

त्यसयता दुईवटा जहाज सञ्चालनमा आए पनि दुईवटा भने पहिलाको जसरी नै घाममा सुकाएर राखिएको छ। कार्यकारी अध्यक्ष खरेलका अनुसार जहाजमा प्राविधिक समस्या आएपछि थन्क्याइएको हो। अर्को कुरा ‘वाई १२–ई’ जहाज चलाउन पाइलट पनि प्राप्त छैनन्।

‘एउटामा इन्जिन र अर्कोमा प्राविधिक समस्या देखिएको छ,’ उनले भने, ‘मर्मतको लागि सामान समेत ल्याएको छौं, अब चाँडै मर्मत गरिनेछ।’ जहाज मर्मत भएरमात्रै उडाउन सकिने अवस्था छैन। पाइलट नहुँदा जहाजको नियमित उडान गर्न नसकिएको खरेल स्वीर्काछन्। अहिले उक्त सिरिजका जहाज उडाउने पाइलट पाँचजना छन्। थन्किएर बसेका दुई जहाज सञ्चालन गर्न थप पाँच पाइलट चाहिन्छ। निगमले पाइलट पूर्तिको तयारी थालिसकेको छ। केही दिनमै पाइलट पूर्तिको सूचना निकालिने निगमले बतायो।

‘आन्तरिक उडानका सबै जहाज मर्मत गरेर तयारी अवस्थामा राख्छौं,’ खरेलले भने, ‘माघको अन्तिमसम्म निगमका सबै जहाज मर्मत भई सक्नेछन्।’ निगमसँग हाल आन्तरिक उडानको लागि नौवटा जहाज छन्। तीमध्ये पाँचवटा ग्राउन्डेड छन्। चारवटा ‘वाई १२–ई’ मध्ये दुईवटा ग्राउन्डेड छन्। तीनवटा ट्विअटरमध्ये दुइटा ग्राउन्डेड छन्। त्यसैगरी, सुगम क्षेत्रमा उडान भर्ने ५८ सिटे दुई ‘९एमए–६०’ मध्ये एउटा ग्राउन्डेड छ। यी सबै जहाज माघको अन्तिमसम्म मर्मत भई सक्ने खरेलको दाबी छ।

‘जहाज मर्मतपछि आन्तरिक उडानलाई तीव्र गर्नेर्छौं,’ खरेलले भने, ‘ती जहाजलाई प्रतिस्पर्धी बनाएर जहाज थपिनेछ।’ यसअघि उनले दसैंअघि नै जहाजले व्यापारिक उडान गर्ने दाबी गरेका थिए। त्यसको लागि पाइलटको व्यवस्था, उडान तालिका लगायत तयारी भएको बताएका थिए। तर ‘वाई १२–ई’ दुइटा बाहेक अरु जहाज नियमित उडाउन सकेनन्। यद्यपि ‘वाई १२–ई’ जहाजले दुर्गमका क्षेत्रमा नियमित उडान गरिरहेको निगमका प्रवक्ता अशोक सिग्देलले बताए।

निगमले दुर्गम क्षेत्रका विमानस्थललाई लक्ष्य गरेर चारवटा ‘वाई १२–ई’ सिरिजका जहाज ल्याएको हो। पहिलो जहाज २०७१ कात्तिक १७ गते नेपाल आइपुगेको थियो। चार वर्षअघि ल्याइएका र पछिल्लो समयमा ल्याइएको चारवटै जहाज पाइलट, प्राविधिक कर्मचारी लगायत अभाव देखाउँदै निगमले नियमित सञ्चालन गर्न सकेको थिएन।

प्रकाशित: २७ मंसिर २०७५ ०७:५७ बिहीबार

नेपाल_वायुसेवा_निगम मदन_खरेल वाई_१२–ई चिनियाँ_जहाज