अर्थ

कृषक, महिला तथा साना उद्यमीलाई माछापुच्छ्रे बैंकको बिनाधितो सरलीकृत कर्जा

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशनलबीच संयुक्त सहकार्यमा ग्रामिण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले हस्ताक्षर गरे।

कार्यक्रममा बोल्दै शर्माले यो सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिनाधितो सरलीकृत कर्जा प्रदान गरिने बताए। साथै, बैंकले कुल ४ हजार ३ सय कृषक एवं महिला उद्यमीलाई ऋण प्रवाह गर्ने, ३ हजारको संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द्रको विस्तार गर्ने तथा नेपालमै पहिलोपटक नौलो कर्जा सेवा ‘किसान क्रेडिट कार्ड’को सेवा प्रदान गर्ने उद्देश्य समेत राखेको बताए।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर, साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९ शाखारहित बैकिङ्ग सेवा समेत गरी कुल १२६ स्थानबाट बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ। साथै, बंैकको देशभर १०७ वटा एटिएम सञ्चालनमा छ। 

प्रकाशित: २६ मंसिर २०७५ ११:०७ बुधबार

माछापुच्छ्रे_बैंक सरलीकृत_कर्जा