अर्थ

एक महिनामा दुई सय कन्टेनर बढी आए

वीरन्जस्थित सुक्खा बन्दरगाहमा रहेका तेस्रो मुलुकबाट सामान आयात भएका कन्टेनर। तस्बिरः रितेश/नागरिक

वीरगन्ज – तेस्रो मुलुकबाट भारतीय बन्दरगाह हुँदै रेल मार्गबाट सुक्खा बन्दरगाहमा आउने कन्टेरको संख्या बढ्दो छ। विदेशबाट मालसामान बोकर आउने कन्टेनरको संख्या बढेसँगै कन्टेनरबन्द मालसामानको आयात र यहाँस्थित भन्सार कार्यालयको राजस्व असुली समेत बढेको छ।

गत आर्थिक वर्ष ०७४–७५ मा प्रतिमहिना औसत तीन हजार चार सय ७१ को संख्यामा आएका कन्टेनर चालु आव ०७५–७६ मा प्रतिमहिना औसत तीन हजार सात सय ७० को संख्यामा भित्रिएको तथ्यांक छ। यो भनेको अघिल्लो वर्षको तुलनामा प्रतिमहिना दुई सयभन्दा बढी कन्टेनर आयात हो।

कन्टेनर आयात बढ्दो क्रममा रहेको सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका वरिष्ठ अधिकृत अनिमेश कुमारले बताए। यो वर्ष कम्तिमा साढे ४५ हजार कन्टेनर आयात हुने अनुमान गरिएको छ। आव ०७४–७५ मा सुक्खा बन्दरगाहमा ४१ हजार ६ सय ६१ कन्टेनर (२० फिट एकाइमा) भित्रिएका थिए। त्यसअघि आव ०७३–७४ मा ३३ हजार एक सय ९६ कन्टेनर आएका थिए।    

‘र्याक’ (मालवाहक रेल)को संख्या हेर्दा त्यो पनि यस्तै बढ्दो अनुपातलाई देखाउँछ। आव ०७४–७५ मा चार सय ७२ कन्टेनरबाहक ‘र्याक’ आएका थिए। मासिक ३९.३३ र्याक हुन आउँछ यो। एक र्याकमा २० फिट एकाइको ९० कन्टेनर आउँछ। त्यस्तै आव ०७३–७४ कन्टेनर बोकेका तीन सय ८२ ‘र्याक’ (मालवाहक रेल) आएका थिए। अर्थात मासिक हिसाबले ३१.८३ वटा। यसपालि औसत रुपमा मासिक ४२.२५ वटा ‘र्याक’ कन्टेनर लिएर सुक्खा बन्दरगाह भित्रिएका छन्।

कन्टेनरमा विदेशबाट प्लास्टिक दाना लगायत विभिन्नखाले औद्योगिक कच्चा पर्दाथ, विदेशी मदिरा, अखबार छाप्ने कागज तथा मसी, गेडागुडी, गाडी, ल्युब्रिकेन्ट, इलेक्ट्रोनिक सामान, मसला, हलुका पेय, हलुका पेयमा प्रयोग हुने चिनी, मेसिनरी, पार्टपुर्जा, तयारी पोषाक लगायत वस्तु आयात हुने गरेको सुक्खा बन्दगाह भन्सार कार्यालयले जनाएको छ। कन्टेनर आयात बढेसँगै यसको प्रभाव राजस्व असुलीमा समेत देखिएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले पोहोरको तुलनामा राजस्व आम्दनीमा २५ प्रतिशतभन्दा बढीले वृद्धि देखिएको बताए।

ढुवानीका लागि आयातकर्ताको रोजाइमा रेलमार्ग प्राथमिकतामा परेपछि सुक्खा बन्दगाहमा कन्टेनर आयातमा भारी वृद्धि भएको हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले बताए। वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दगाह रेल्वे सञ्जालमार्फत जलमार्गका भारतीय बन्दागाहबाट जोडिएको छ।

निर्यात नगण्य
आयातमा उल्लेखनीय वृद्धि भइरहेका बेला निर्यात भने न्यून नै छ। सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सको तथ्यांक अनुसार आव ०७४–७५ मा सुक्खा बन्दरगाह भएर जम्मा एक हजार ६ सय २० वटा कन्टेनर मालसामान नेपालबाट निर्यात भएको छ। आयात भएको ४१ हजार ६ सय ६१ कन्टेनर संख्याको तुलनामा निर्यात भनेको ३.८८ प्रतिशत मात्र हो।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अशोक टेमानीले आयातको तुलनामा निर्यात नगण्य हुनुमा यहाँबाट बाहिर आयात गर्नका लागि प्रतिस्पर्धात्मक वस्तुहरु बनाउनुलाई कारण बताउँछन्। त्यस्तै नेपालले आफ्नो लजेस्टिक व्यवस्थापन क्षमता नजुटाउनुलाई उनले अर्को कारण मान्दछन्।

कन्टेनर आयात तथ्यांक
अवधि                कन्टेनर संख्या    र्याक संख्या
पोहोर मासिक           ३४७१             ३९.३३
चालु आव ०७५/७६
साउन                       ३५००             ३९
भदौ                         ३५७०              ४०
असोज                      ३९९०              ४५
कत्तिक                     ०२०              ४५
स्रोत : हिमालयन टर्मिनल्स

प्रकाशित: २६ मंसिर २०७५ ०५:०० बुधबार

सुख्खा_बन्दरगाह एक_महिना कन्टेनर_अायात