अर्थ

इँटाबाट महिनामा लाख !

भक्तपुरको झौखेलस्थित एक भट्टामा इँटा पार्दै दीपक तामाङ। तस्बिर : नागरिक

भक्तपुर – सामान्य इँटा पार्ने मजदुरी गरेर महिनामा एउटा परिवारले कति पैसा कमाउला ? १० हजार, ३० हजार, ४० हजार अथवा बढीमा ५० हजार ! तर भक्तपुरमा इँटा पार्ने दुईजनाको एउटा परिवारले महिनामा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ।

भक्तपुरको झौखेलमा इँटा पार्ने काभ्रेका दीपक तामाङका अनुसार बूढाबूढी दुईजना एक दिनमा तीन हजार हाराहारी इँटा पार्न सकिन्छ। एक हजार इँटा पार्दा १२ सय रुपैयाँ ज्याला पाइन्छ। यस हिसाबले उनीहरुले एक दिनमा तीन हजार ६ सय रुपैयाँ कमाउँछन्। यही हिसाबमा उनीहरुको मासिक आम्दानी एक लाख आठ हजार रुपैयाँ पुग्छ।

राम्रो कमाइ हुने भएपछि अन्य बेलामा ज्याला मजदुरी गर्नेहरु अहिले भक्तपुरका इँटाभट्टामा इँटा पार्ने काममा व्यस्त छन्। इँटा पार्ने मौसममा अन्य मजदुरी छाडेर धेरै मजदुर परिवार भक्तपुर आएको उनले जानकारी दिए। इँटा पार्दा सपरिवार काम गर्न पाउने र राम्रो कमाइ हुने भएकाले मजदुरहरु यो समयमा इँटा पार्ने कामप्रति आकर्षित हुन्छन्। इँटा पार्ने यी मजदुर यो मौसममा बसाइँसराइ सरेर यहीँ इँटाभट्टामै बस्छन्। आफूहरुले पारेको काँचो इँटाबाट अस्थायी टहरा बनाई उनीहरु काम गर्ने ठाउँमै बस्छन्।

यो काम गर्न त्यति सजिलो भने छैन। एकाबिहानै उठेर उनीहरु इँटा पार्न थाल्छन्। इँटा पार्ने अर्का मजदुर रामबहादुर बिक राति एक–दुई बजे नै उठेर सबैले इँटा पार्न थाल्ने बताउँछन्। त्यसका लागि सबैले कामदारले इँटा पार्ने ठाउँमा तार तानेर बिजुली बाल्ने व्यवस्था मिलाएका छन्। विदेशमा जस्तै कमाइ स्वदेशमै हुन थालेकोले यो कामप्रति आकर्षित भएर लागेको उनीहरु बताउँछन्।

भक्तपुरमा मात्रै नभई अहिले देशैभर इँटा पार्ने काम सुरु भएको छ। काठमाडौं उपत्यकामा धान काट्न सकिएसँगै ती खेतमा धमाधम इँटा पार्ने काम सुरु भएको छ। काँचो इँटा पुग्ने मात्रामा तयार भएपछि त्यसलाई पोल्ने काम सुरु हुन्छ। इँटाको मौसम अहिलेदेखि वैशाखसम्म चल्छ। वैशाखपछि भने इँटा पार्ने खलमा धान रोप्ने चलन छ।

भक्तपुर इँटाभट्टा संघको तथ्यांक अनुसार भक्तपुरमा मात्रै ६२ वटा इँटाभट्टा छन्। एउटै इँटाभट्टामा सयौंले रोजगारी पाउँछन्। अहिले यहाँका इँटाभट्टामा सयौं कामदारले रोजगारी पाएका छन्। इँटा पार्न उपत्यका नजिकका काभ्रे, रामेछाप, सिन्धुलीलगायत दाङ, रोल्पा, रुकुमबाट मजदुर आउँछन्।

प्रकाशित: २५ मंसिर २०७५ ०५:१५ मंगलबार

इँटा मजदुरी