अर्थ

सुक्खा बन्दरगाहमा थन्कियो ५० हजार टन फलाम

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दगाहमा बुधबारसम्म थन्किएका फलाम। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा फलामको जाम बढेको छ। ढुवानी साधनमा लगाइएको वजन सीमाका कारण त्यहाँबाट बाहिरिने परिमाण घटेपछि सुक्खा बन्दरगाहको हाताभित्र भारतबाट रेलमार्ग हुँदै आयात गरिएको करिब ५० हजार टन फलाम थन्किएको छ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयमार्फत औद्योगिक कच्चा पदार्थको रुपमा फलाम आयात हुने गरेको छ। पछिल्लो समय ट्राफिक प्रहरीले गाडीको एक्सल क्षमताका आधारमा ऐनमा उल्लेख भएभन्दा बढी तौल ढुवानी गर्न रोक लगाएपछि फलाम थुप्रिएको हो। अचेल ट्राफिक प्रहरीले एक्सल क्षमता हेरेर ढुवानी गर्न दिने गरेको ढुवानी व्यवसायी भैयाराम पटेल बताउँछन्।

गत भदौयता पथलैयास्थित ट्राफिक प्रहरी कार्यालय, प्रदेश २ ले ढुवानी साधनलाई क्षमताभन्दा बढी फलाम ओसारपसार गर्न रोक लगाएको छ। यसबाट कच्चा पदार्थको रुपमा आयातित फलाम ढुवानी प्रभावित भएको उद्योगी बताउँछन्। प्रदेश ट्राफिकले वीरगन्ज भन्सार÷आइसिपी र ड्राइपोर्टबाट मालसामान बोकेर निस्केका सवारी साधनलाई नियन्त्रण लिन थालेपछि ढुवानी व्यवसायीले ओभरलोड गर्न छाडेका छन्। यसले गर्दा साबिकको अनुपातमा सुक्खा बन्दगाहबाट फलाम बाहिरिन नपाउँदा समस्या भएको हो।

‘साबिककै संख्यामा ६० देखि ७० गाडीसम्म फलाम दैनिक रुपमा यहाँबाट बाहिरिने गरेको छ, गाडीको संख्या घटेको छैन,’ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका वरिष्ठ अधिकृत अनिमेश कुमारले भने, ‘पहिले ६० टनसम्म बोक्ने गाडीले अहिले ३० टनमात्र बोकिरहेका छन्, यसले गर्दा पहिलेको तुलनामा कम फलाम बाहिरिएको हो।’ सुक्खा बन्दरगाहभित्र ५० हजार टनभन्दा बढी फलाम थुप्रिएको उनले बताए। ‘फलाम अनलोड हुने ६ नम्बर लाइनमा ती फलाम छन्, यसले गर्दा नयाँ खेप अनलोड हुन समस्या भइरहेको छ,’ कुमारले भने, ‘हरेक गाडीमा डिटेन्सन चार्ज (विलम्ब शुल्क) परिरहेको छ।’

फलामको गाडी विलम्ब भएमा भारतीय रेल्वेले प्रतिबेगन प्रतिघन्टा एक सय ५० भारतीय रुपैयाँ (नेपाली दुई सय ४०) का दरले विलम्ब शुल्क असुल्छ। एकपटकमा एक -याक अर्थात ४५ बेगन फलाम आउने गरेको छ। फलाम बाहिरन नपाउँदा प्रति-याक प्रतिघन्टा १० हजार आठ सय रुपैयाँका दरले विलम्ब शुल्क लागिरहेको छ। महिनामा औसत २० -याक फलाम सुक्खा बन्दरगाहमा आउँछ।

‘हामीकहाँ फलामको जाम भएको छ, यसको औपचारिक जानकारी बन्दगाह सञ्चालकबाट भने आएको छैन,’ सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भने, ‘त्यो जानकारी आए पनि हामीले पहल गर्ने ठाउँ देखिँदैन, यसमा नीतिगत निर्णय नै आवश्यक छ।’

नेपालमा औद्योगिक सामान तथा ठूला कार्गो ओसारपसारका लागि चाहिने बेग्लै नियम, कानुन छैन। सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ अनुसार नै यसको नियमन गर्ने गरिएको छ। २०५४ सालमा सो नियमावली बनाउँदा त्यसमा कन्टेनर र त्यसको वजन व्यवस्थापनको कल्पनासमेत नगरिएकाले कानुनी समस्या देखिएको ढुवानी व्यवसायी बताउँछन्।

२०७० पुस ९ मा तत्कालीन मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले ओभरलोड ढुवानी रोक्न कडाइ गरेपछि ढुवानी व्यवसायी आन्दोलित भएका थिए। उनीहरुले ढुवानी हडताल गरेपछि २०७० पुस २७ मा सरोकारवाला मन्त्रालयका उच्च अधिकारी र ढुवानी व्यवसायीको बैठकले अन्तरिम व्यवस्था गर्दै दुई एक्सल ६ चक्के गाडीले १६ हजार ६ सय किलो वजन बोक्न सक्ने, तीन एक्सल १० चक्केले २५ हजार किलो, चार एक्सल १२ चक्केले ३१ हजार किलो र चार एक्सल १४ चक्केले ४० हजार दुई सय किलो बोक्न अनुमति दिएको थियो।

प्रकाशित: २३ मंसिर २०७५ ०३:०३ आइतबार

सुक्खा_बन्दरगाह फलाम