अर्थ

अदुवाले राम्रो मूल्य पाएपछि किसान हर्षित

फाइल फाेटाे

तेह्रथुम – गत वर्ष अदुवा नबिकेर बारीमानै कुहिएपछि निरास भएका किसानहरू यसवर्ष अदुवाले राम्रो मूल्य पाउँदा हर्षित भएका छन्। अदुवाको पहिलो सिजनदेखि नै प्रतिकेजी ४२ रुपैयाँमा किनबेच हुन थालेपछि किसानहरू हर्षित भएका हुन्।

गत वर्ष अदुवा कम निकासी भएका कारण नबिकेर बारीमानै कुहिएपनि यस वर्ष अदुवाले राम्रो मूल्य पाउन थालेको किसान चित्रराज नेपालले बताए। उनले यस वर्ष अदुवाबाट राम्रो आम्दानी गरेको समेत सुनाए। अदुवाखेतीबाट आजित भएका किसानले यस वर्ष भने गत वर्ष नपाएको अदुवाको मुल्य समेत पाएको बताएका छन्। गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय बजारबाट अदुवाको माग बढी आएको र उत्पादन कम भएकोले मूल्य बढेको व्यापारीले बताएका छन्।

किसानको अदुवा प्रतिकेजी ४० देखि ४२ रुपैयाँसम्ममा आफूहरूले खरिद गर्ने गरेको ब्यापारी दुर्गा भण्डारीले बताए। अदुवाबाट किसानले मात्र हैन ब्यापारीले समेत घाटा व्यहोर्नु परेको थियो। राम्रो जमिन नभई पाखाबारीमा समेत अदुवा खेती गर्न सकिने र खाद्यान्न बालीको तुलनामा तेब्बर भन्दा बढी फाइदा हुने भएपछि अदुवा खेतीतर्फ किसान आकर्षित हुने गरेपनि मूल्यमा आउने फेरबदलले समस्या हुने गरेको लालीगुराँस नगरपालिका ९ बस्ने अदुवा किसान स्याम लिम्बुले बताए। उनका अनुसार कुनै वर्ष यहि अदुवाले किसानलाई घाटा हुने गरेको छ भने मूल्य पाउँदा यहि अदुवाले किसानलाई राम्रो आम्दानी समेत दिने गरेको छ।

अदुवामा आउने मूल्यको उतारचढापले किसान र ब्यापारीलाई घाटा हुने भएकोले नेपालमा स्थानीय सरकारले स्थानीय स्तरमै अदुवा प्रशोधन केन्द्र बनाइदिने हो भने किसानहरूले बढी भन्दा बढी मूल्य पाउने म्याङलुङका  किसान सविन नेपालले बताए। उनले भने, अब स्थानीय सरकारले समेत किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्छ।

साविकका गाविसहरू म्याङलुङ्ग, साब्ला, ओयाक्जुङ्ग, पिप्ले, तम्फुला, मोराहाङ्ग, जलजले, जिरिखिम्ती, खाम्लालुङ्ग, संक्रान्ति लगायतका क्षेत्रमा अदुवाको खेती राम्रो हुने गरेको तत्कालिन जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। यो वर्ष जिल्लामा करिब ४ हजार मेट्रिकटन अदुवा उत्पादन हुने कृषि विकास कार्यालयले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७५ ०९:१० शुक्रबार

अदुवा मूल्य किसान