अर्थ

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानीगर्छौं : मन्त्रीमहासेठ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका बाँकी रकम चाँडै भुक्तान गरिने बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीमहासेठले प्रक्रिया पुर्याएर व्यवसायीको रकम भुक्तानी गर्ने बताएका हुन्।

स्थानीय तहबाट व्यवसायीले पाउनुपर्ने ठूलो रकम निकास नभएको सन्दर्भमा अब केन्द्रबाटै रकम भुक्तानीका लागि पहल गर्ने आश्वासन मन्त्री महासेठले दिए । मन्त्री महासेठले राज्यलाई आर्थिक भार नपर्ने गरी २०५२ देखि रोकिएका आयोजनाको म्याद थपका लागि समेत पहल गर्ने बताए।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई विभिन्न परियोजना हस्तान्तरण गरेकामा ती परियोजनाको निर्माण कार्य सम्पन्न भई बिल पेस हुँदा समेत भुक्तानी नहुने वातावरण सिर्जना भएकोतर्फ मन्त्री महासेठको ध्यानाकर्षण गराएको थियो।

एडिबी, जाइका, विश्व बैंक लगायतका दातृ निकायको ऋण सहयोगमा आह्वान हुने अर्बौंको ठेक्कामा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नपाउने गरी बोलपत्र आह्वान भएकोप्रति पनि महासंघले आपत्ति जनाएको अध्यक्ष सिंहले बताए।

‘स्वदेशी निर्माण व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कार्य गर्नको निमित्त क्षमतावान बनाई निर्माण व्यवसायको क्षेत्रमा आत्मनिर्भरता बढाउनुपर्नेमा त्यसको ठीक विपरीत काम भइरहेकोप्रति ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘राष्ट्रले ऋण बेहोर्नुपर्ने, राष्ट्रबाट पुँजी विदेसिने, स्वदेशी निर्माण व्यवसायीको वृत्ति विकासमा नै प्रत्यक्ष असर पार्ने र हतोत्साहित गर्ने किसिमले काम भइरहेको छ ।’

सार्वजनिक खरिद नियमावली, २०६४अनुसार एक अर्बदेखि पाँच अर्ब रुपैयाँसम्ममा नेपाली निर्माण व्यवसायीलाई कमसेकम प्रतिशतमा जेभी (जोइन्ट भेन्चर)गर्न पाउने व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।

प्रकाशित: १९ मंसिर २०७५ ०४:०७ बुधबार

रघुवीर_महासेठ निर्माण_व्यवसायी रकम