अर्थ

चीन जोड्ने सडकको डिपिआर संशोधन सकियो

व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रबेंसी सडक। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधनको काम सकिएको छ।

डिपिआर संशोधनको काम सकाएर स्टेटमेन्टको काम सुरु गरिएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। मंसिर महिनाभित्रै स्टेटमेन्टको काम सकाएर टेन्डर गरिने योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए।

‘सडकको डिपिआर संशोधनको काम सकिएको छ,’ उनले भने, ‘मंसिरभित्रै टेन्डरको काम सुरु हुन्छ।’ वर्षाका कारण सडकमा थप क्षति भएपछि गत असारमा तयार गरिएको डिपिआर संशोधन गरिएको छ। असार मसान्तसम्ममा डिपिआर सकाएर साउनमा टेन्डर गर्ने तयारी थियो। गत कात्तिकबाट स्तरोन्नतिको काम अघि बढ्ने गरी तयारी थालिए पनि डिपिआरको काम पूरा नभएपछि काम पछि धकेलिएको हो।

नेपाली सेनाको मैलुङ–स्याफ्रुबेंसी सडक निर्माण कार्यदलले निर्माण गरेर गत जेठमा –स्याफ्रुबेंसी–रसुवागढी सडक योजनालाई हस्तान्तरण गरेको थियो। २०७२ वैसाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सम्पन्न भएको थियो।

ट्र्याक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना छ। राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (२०७५–७६–०७७–७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष २०६१–६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना आव २०७५–७६ भित्र निर्माण तथा स्तरोन्नति हुने उल्लेख छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रु १६ किमि दूरी रहेको छ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नु पर्दैन।

मैलुङ–स्याफ्रुबेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ देखि पासाङ ल्हामु राजमार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: १८ मंसिर २०७५ ०६:५५ मंगलबार

मैलुङ–स्याफ्रुबेंसी_सडक डिपिआर व्यापारिक_नाका