अर्थ

एनआइसी एसियाको सिइओमा न्यौपाने

काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन्।

आइतबार सम्पन्न बैंक सञ्चालक समितिको ३७९औं बैठकले न्यौपानेलाई सिइओ नियुक्त गरेको हो। यसअघि उनी सोही बैंकमा कामु सिइओ थिए।  

तत्कालीन सिइओ लक्ष्मण रिसालको राजीनामा स्वीकृत भएपछि न्यौपानेले कायम मुकायम सिइओको रुपमा बैंकको नेतृत्व गरिरहेका थिए। न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम सञ्जाललगायत परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले प्रमुख जोखिम अधिकृत, सहायक सिइओ, तथा नायब सिइओको रुपमा नेतृत्व गरेर बैंकलाई देशकै अग्रणीमध्ये एक बनाउने अभियानमा मुख्य अभियन्ताको रुपमा काम गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। न्यौपाने चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

नवनियुक्त सिइओ न्यौपानेलाई सञ्चालक समितिको कार्यकक्षमा आइतबारै बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथग्रहण गराएको विज्ञप्तिमा उल्लेख छ। सो समारोहमा सिइओ न्यौपानेले बैंकका ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैंकिङ सेवा प्रदान गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरे बमोजिम सबै सरोकारवालाको सर्वांगीण आर्थिक समृद्घिका लागि उत्कृष्ट बैंकको रुपमा एनआइसीलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने बैंकको नारालाई मूर्तरुप दिन सम्पूर्ण बैंक परिवार हरहमेशा प्रतिबद्ध रहने प्रण गरे।

एनआइसी बैंकले १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ। यसले दुई सय ६८ शाखा, दुई सय ८१ एटिएमसहित देशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकिङ सेवा दिइरहेको छ।

प्रकाशित: १७ मंसिर २०७५ ०४:३१ सोमबार

एनआइसी_एसिया_बैंक