पाल्पा - उत्तर–दक्षिण छोटो मार्ग ‘कालीगण्डकी करिडोर’को पाल्पा जिल्लाभित्र आठ वर्षसम्म ट्र्याक खुल्न सकेको छैन। करिडोर निर्माण २०६४ मा सुरु भए पनि २०६९ सालमा भएको ठेक्काका चार कम्पनीले काम नगर्दा जिल्लाको चार किलोमिटर ट्र्याक अहिलेसम्म खुल्न नसकेको हो। चीन र भारत जोड्ने मुलुककै छोटो सडक चार सय १७ किलोमिटर लामो छ। जिल्लामा बजेट आए पनि काम नगरी फ्रिज हुनु, निर्माण व्यवसायीले सम्झौता अनुसार काम गर्न नसक्नु, पर्याप्त बजेट अभाव, आयोजना कार्यालयमा जनशक्ति र सवारी साधनको कमीले अझै ट्र्याक खुल्न नसकेको हो। राष्ट्रिय गौरवका आयोजनामध्ये कालीगण्डकी करिडोर पाँच वर्षमा सक्ने लक्ष्य थियो।
उत्तर–दक्षिण (कालीगण्डकी) लोकमार्ग योजनाले नवलपरासीको गैंडाकोटदेखि बागलुङसम्मको दुई सय ४५ किलोमिटर लामो लोकमार्ग हेर्दै आएको छ। यस क्षेत्रमा ३२ वटा पुल निर्माणाधीन छन्। कालीगण्डकी कोरिडोर अन्तर्गत पाल्पाको रिडी–राम्दी खण्डमा ट्र्याक खोल्ने काम हुन सकेको छैन। जसका कारण सम्पूर्ण करिडोर सडकमा सवारी साधन गुड्न पाएका छैनन्। सवारी साधन चलाउनै नसकिने गरी खनेको ट्र्याकमा पहिरो खसेको छ। बाटो चौडा गर्ने काम भएको छैन। पहिरो हटाइएको छैन। तानसेन नगरपालिका–१३, रानीमहलदेखि अर्गली जोड्ने सडकको सय मिटर भीरमा ट्र्याक खोल्न बा“की छ। करिडोरकै दैलातुङ–दरपुक खण्डमा पनि ट्र्याक खुल्न सकेको छैन। यस्तै, बगनासकाली गाउँपालिका–६, मन्द्रानमा पाँच सय मिटर ट्र्याक खोल्ने काम बाँकी छ।
रानीघाट–यम्घा खण्डमा हिमदुङ थोकर कन्सट्रक्सन, दैलातुङ–दर्पुकमा सन्तोषी प्यासिफिक कन्सट्रक्सन नेपाल प्रगति जेभीले काम गरेको छैन। यस्तै, मिर्मी फलेबासमा अमरसूर्य पशुपति जेभी र गैंडाकोट पिपलडाँडा खण्डमा ओएसिस ई एन्ड बिल्डर्सले काम नगरेपछि कालीगण्डकी करिडोर सडक योजनाले ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको बताएको छ। योजनाका इन्जिनियर कृष्णबहादुर खड्काले २०६९/०७० मा ठेक्का पाएर सम्पर्कमा नआएका चार कम्पनीलाई अन्तिम सूचना प्रकाशन गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको बताए। उनी भन्छन्, ‘धेरैपटक लिखित र मौखिक सूचना प्रकाशन गरी ताकेता ग-यौं। सम्पर्कमा नआएपछि सार्वजनिक खरीद ऐन अनुसारको प्रक्रिया अघि बढाएका छौं।’
सांसद बहादुरसिंह लामाको कम्पनी हिमदुङ एन्ड थोकर कन्सट्रक्सन प्रालिले काम नगर्दा ट्र्याक खोल्ने काम अगाडि नबढेको हो। हिमदुङले ठेक्का पाएको ६ वर्ष भयो। अहिलेसम्म काम नगरी अलपत्र छाडेको छ। जसका कारण कालीगण्डकी करिडोर अन्तर्गतको लोकमार्ग आयोजनाको ट्र्याक खुल्न सकेको छैन। हिमदुङले २०६९÷७० मा लिएको ठेक्काको काम अझै सकिएको छैन। आयोजना कार्यालयका अनुसार ५२ प्रतिशत काम गर्न बा“की छ। अहिले काम अलपत्र छाडिएको छ। सडक चौडा गर्ने र ट्र्याक खोल्ने काम बा“की नै छ। करिडोरको छेर्लुङ रानीमहलदेखि दैलातुङसम्म ट्र्याक खोल्ने काम हिमदुङ लिएको थियो। ८५ लाखको ठेक्काको काम २०७० को जेठमै सक्नुपर्ने थियो। तर अहिलेसम्म ट्र्याकसमेत नखोली अलपत्र छ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आफूलाई ठेकेदारले काम नगरेको विषयमा जिल्लाका कुनै पनि कार्यालयबाट जानकारी नआएको बताए। जिल्लाका कार्यालय प्रमुख तथा सूचना अधिकारी र पत्रकारसँग छलफल गर्दै प्रजिअ खनालले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया तत्काल थाल्नुपर्ने बताए। उनले ठेकेदारलाई तत्काल काममा लगाउन र काम नगर्नेको विषयमा प्रशासनमा जानकारी दिन कर्मचारीलाई आग्रह गरे।
कालीगण्डकी करिडोर आयोजना कार्यालयले निर्माण व्यवसायीलाई काम गराउन सकेको छैन। आयोजना प्रमुख कृष्ण खड्का भन्छन्, ‘सांसदलाई कालोसूचीमा राख्न नसकिएकै हो। अब चारवटा कम्पनीका लागि सूचना प्रकाशित गरेका छौं। सुरुकै ठेक्का भए पनि विभिन्न कारणले गर्दा काम गराउन सकिएन।’ कालीगण्डकी लोकमार्ग आयोजनाका अनुसार ग्याभिएन वाल, १० मिटर चौडा लगायत स्तरोन्नतिको काम गर्नुपर्ने ठेक्का सम्झौतामा छ। ‘अहिलेसम्म ठेक्का सम्झौता अनुसार ट्र्याकसमेत खुलेको छैन,’ आयोजनाका निमित्त प्रमुख खड्काले भने, ‘पुरानो ठेक्का हो तर अहिलेसम्म काम हुन सकेको छैन।’
बगनासकाली गाउँपालिका–६, यम्घाका वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले भीर र ढुंगे चट्टान भएकाले ट्र्याक खुल्न नसकेका बताए। उनी भन्छन्, ‘वर्षौंदेखि ट्रयाक खन्न सुरु गरे पनि जस्ताको तस्तै हुनु दुःखद पक्ष हो।’ सन्तोषी प्यासिफिक नेपाल प्रगति जेभीले यहा“ ठेक्का लिएको हो। ६ करोड ५५ लाखको ठेक्काको ४० प्रतिशत काम अझै बा“की रहेको करिडोर आयोजनाले जनाएको छ। दुई स्थानमा ट्र्याक नखुल्दा रिडीदेखि राम्दीसम्मको यात्रा गर्न नपाएको स्थानीय बासिन्दाको गुनासो छ।
प्रकाशित: १६ मंसिर २०७५ ०३:३१ आइतबार