अर्थ

दार्चुलामा नेपाल इन्भेस्टमेन्ट बैंक

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दार्चुला जिल्लाको दुहु गाउँपालिकास्थित हिकिलामा ७८औं शाखा खोलेको छ। ११ हजार जनसंख्याको बसोबास रहेको दुहु सदरमुकामबाट १९ किलोमिटरको दुरीमा छ। तिंकर सडकखण्ड अन्तर्गत पर्ने दुहुका बासिन्दाको मुख्य पेसा जडीबुटी हो।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा दिने उशेश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ। विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई चार अर्ब ११ करोड लगानी गर्ने आफू मात्र एक्लो बैंक भएको यसको दाबी छ।

नौ लाखभन्दा बढी ग्राहक रहेको यस बैंकको एटिएम संख्या एक सय सात पुगेको विज्ञप्तिमा उल्लेख छ। बैंकको सञ्जालमा भिसा तथा एनपिएन सदस्य बैंकका हजारभन्दा बढी एटिएम र तीन हजारभन्दा बढी बढी प्वाइन्ट अफ सेल टर्मिनल छन्। बैंकको आठ एक्सटेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ एकाइ र नौवटा राजस्व संकलन केन्द्र छन्।

युरोमनी अवार्डको ‘उत्कृष्ट बैंक नेपाल–२०१८’ जितेको बैंकले पाँचपटकसम्म ‘बैंक अफ द इयर अवार्ड’ पाएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ मंसिर २०७५ ०७:४९ बिहीबार

नेपाल_इन्भेस्टमेन्ट_बैंक दार्चुला