अर्थ

पावर हाउस निर्माण कार्य सुरु

माथिल्लो सान्जेन जलविद्युत् आयोजना। तस्बिर : नागरिक

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस निर्माणको काम सुरु भएको छ।

सुरुङ निर्माण तथा पेनस्टक निर्माणको काम सकिएसँगै पावर हाउसको काम सुरु गरिएको आयोजनाले जनाएको छ। ठेकेदारले कामदार ल्याएर काम सुरु गरिसकेको र १५–२० दिनमा पहिलो ढलान हुने आयोजना प्रमुख सुदन सिंह महतले बताए।

‘आयोजनामा अहिले हाइड्रोमेकानिकलको काम भइरहेको छ,’ उनले भने, ‘आगामी चैतसम्ममा हेडवक्र्सको काम सकिन्छ।’ आयोजनाको २०६८ असोज २३ गते पिपिए भएको थियो। १४.८ मेगावट क्षमताको  आयोजनाको करिब ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ।

तीन सय ५० मिटर पेनस्टकमा पाइप राख्नुपर्नेमा २३ मिटर पाइप राखिएको छ। २०७६ असोजमा परीक्षण उत्पादन सुरु हुने उनले बताए। ‘आयोजनाको कामले गति लिएको छ,’ उनले भने, ‘आगामी असोजसम्ममा हामीले टेस्टिङ गर्छौं।’

आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको पछिल्लो पटक थपिएको म्याद अनुसार २०७६ असोजमा उत्पादन सुरु गरिसक्नु पर्नेछ। आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ।

सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।

आयोजनाको सिभिलतर्फ ७५, इलेक्ट्रोमेकानिकलतर्फ ६० र हाइड्रोमेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। हाइड्रोमेकानिकलतर्फ गेटको काम ८० प्रतिशत सकिएको छ भने २४ मिटर पेनस्टक राखिएको छ।

इलेक्ट्रोमेकानिकलतर्फ सामग्री ल्याउने काम भइरहेको छ। आयोजनाले दिएको जानकारी अनुसार स्लोप प्रोटेक्सन, हेडवक्र्स निर्माण तथा पिकिङ पण्ड निर्माणको काम भइरहेको छ। आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ।

एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएर काम अघि बढेको आयोजनाले जनाएको छ। प्रसारण लाइन निर्माणका लागि २०७४ वैसाख २४ गते ठेक्का सम्झौता भएको थियो।

यसमा डिजाइन, निर्माण, जडान, परीक्षण र कमिसनिङ लगायतका कार्य पर्छन्। आयोजनाले दिएको जानकारी अनुसार सर्भे, माटो परीक्षण तथा डिजाइनको काम अन्तिम चरणमा पुगेको छ।

प्रकाशित: १३ मंसिर २०७५ ०४:११ बिहीबार

जलविद्युत्_आयोजना पावर_हाउस_निर्माण