अर्थ

पदयात्रामा अब बिमा अनिवार्य

पोखरा - नेपालको पदयात्रा क्षेत्रमा पर्यटकको ‘फेक रेस्क्यू’ (फर्जी उद्धार) हुने गरेको भन्दै हिमाली भेगको पदयात्रामा जान चाहने पर्यटकको जोखिम बेहोर्न अन्तर्राष्ट्रिय बिमा कम्पनी तयार नभइरहेको बेला सरकारले भने ‘ट्राभल इन्सुरेन्स’ (यात्रा बिमा) नगरी पदयात्रामा जान नपाउने गरी कडाइ गरेको छ।

पदयात्रामा जाने सबै पर्यटकका लागि सरकारले अबदेखि बिमा अनिवार्य गरेको हो। बिमा नगरी पदयात्रामा जाने पर्यटकलाई पदयात्रा अनुमतिपत्र नदिन समेत सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सरकारी निर्देशन लागू गर्दा छोटो दुरीको पदयात्रामा जाने पर्यटकले पनि अनिवार्य रुपमा बिमा गर्नुपर्ने हुन्छ। अहिलेसम्म व्यावसायीले पर्यटकलाई बिमा गरेर मात्र पदयात्रामा जान अनुरोध गर्दै आए पनि अनिवार्य थिएन।

सरकारको यो बाध्यकारी नियमले छोटो दुरीको पदयात्रामा जाने भारतीय, चिनियाँ लगायत मुलुकका पर्यटक बढी प्रभावित हुने पदयात्रा व्यावसायीले बताएका छन्। सरकारी निर्देशनपछि छोटो दुरीको पदयात्रामा जाने भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित हुने पर्यटन व्यावसायीले बताएका छन्। नेपाल आउने भारतीय पर्यटकमध्ये अधिकांशले यात्रा बिमा गरेका हुँदैनन्। बिमा नगरी आएका ती पर्यटकलाई अहिले पदयात्रा अनुमति नै दिन छाडिएको छ।

पर्यटन विभाग अन्तर्गतको पर्यटक, खोज तथा उद्धार निर्देशक समितिको हालैको बैठकले बिमा नभएका पर्यटकलाई पदयात्रा अनुमति नदिने निर्णय गरेको हो। बैठकले पर्यटकको ट्राभल इन्सुरेन्स भए नभएको हेरेर मात्र अनुमति दिन निर्देशन दिएको छ। सरकारी निर्देशनपछि पर्यटन बोर्ड पोखरास्थित कार्यालयबाट जारी हुने गरेको पदयात्रा अनुमतिपत्र वितरणमा कडाइ गरिएको बोर्डका प्रबन्धक सूर्य थपलियाले बताए। उनका अनुसार बिमा नगरी आएका पर्यटकलाई अहिले पदयात्रा अनुमति दिन छाडिएको छ। त्यसको मारमा सबैभन्दा बढी भारतीय पर्यटक परेका छन्।

‘नेपाल र भारतबीच खुला सिमाना भएकोले आउजाउमा कुनै रोकतोक नहुँदा नेपाल आउने अधिकांश भारतीयले बिमा गरेका हुँदैनन्,’ थपलियाले भने, ‘तर, उनीहरु पदयात्रामा जाँदा बिमा गर्नुपर्ने प्रावधान छ। बिमा नगरी आएका धेरै पर्यटक अहिले पदयात्रामा जान पाएका छैनन।’ उनका अनुसार अबदेखि मुक्तिनाथ दर्शन गर्न जाने भारतीयले पनि बिमा गर्नुपर्ने हुन्छ। पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अनुमति लिने जतिले बिमा गरेको हुनुपर्ने उनले बताए। मुक्तिनाथ जाने धार्मिक पर्यटक सिजनका बेला अधिक हुने भएकोले उनीहरु बिमा नगरी नेपाल आउँदा समस्या पर्न सक्ने उनले बताए। धार्मिक पर्यटक अधिकांश बृद्धबृद्धा हुने गरेका छन्।

‘पछिल्लो समय सबै पर्यटकको बिमा अनिवार्य गरिएको छ। धेरैजसो बिमा गरेरै मात्र पदयात्रामा आएका छन,’ उनले भने, ‘सरकारले गरेको यो व्यवस्थाले पर्यटकको सुरक्षा हुन्छ।’ थपलियाका अनुसार भारतीय पर्यटक लामो भन्दा छोटो दुरीको पदयात्रा रुचाउँछन्। पोखरा नजिक पर्ने गन्तव्य घान्द्रुक, घोरेपानी, धम्पुस, अस्ट्रेलियन क्याम्प्स, सिक्लेस, ल्वाङघलेल, लगायत गन्तव्यमा जाँदा पनि बिमा अनिवार्य रहेको उनले बताए।

‘सरकारले एकमुष्ठ निर्णय गरेको छ। क्षेत्र छुट्याएर यो व्यवस्था लागू गरेको भए अझ राम्रो हुन्थ्यो। पर्यटकलाई सहज होस् भनेर गरिए पनि केही समय दिएर लागू गरेको भए उत्तम हुन्थ्यो,’ उनले भने, ‘आजको भोलि लागू गर्दा यसले केही प्रभाव पार्छ।’ थपलियाले पनि नेपाल घुम्न आउने भारतीय अधिकांशले बिमा नगर्ने बताए। ‘बिमा तत्कालै पनि गर्न सकिन्छ। नेपालका बिमा कम्पनिले तत्कालै ट्राभल इन्सुरेन्स जारी गर्न सक्छन्,’ थपलियाले भने, ‘तर तत्कालको बिमाले पर्यटकलाई आर्थिक भार भने थप्छ।’

पदयात्रा व्यावसायी पनि छोटो समय राखेर सरकारले गरेको निर्णयले पर्यटक आगमनमा प्रभाव पर्ने बताउँछन्। टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले बिमा नगरी पदयात्रामा जाने पर्यटकको संख्या बढी नै रहेकोले सरकारले लागू गरेको नियमले असर पार्ने बताउँछन्। फेक रेस्क्यूका कारण अन्तर्राष्ट्रिय कम्पनीले नेपाल आउने पर्यटकको बिमा गर्न नमानेको बेला गरिएको यो अनिवार्यताले नेपालको पदयात्रा क्षेत्र असुरक्षित छ भन्ने सन्देश फैलिने उनले बताए।

‘बिमा गर्दा पदयात्रा सुरक्षित हुन्छ। त्यसको हामीले विरोध गरेका होइनौं,’ भुजेलले भने, ‘तर तत्कालै निर्णय लागू गर्दा त्यसको मार आगमनमा पर्छ। कम्तीमा केही महिना समय दिनुपर्छ।’ सरकारको अहिलेको निर्णयले पनि दीर्घकालीन असर पार्ने उनले बताए। अहिलेसम्म टानले भने टिम्स जारी गर्दा बिमा अनिवार्य नगरेको उनले बताए। अहिलेको सरकारी निर्णय तत्काल लागू गर्दा आजको भोलि असर पर्ने उनले बताए। ‘बिमा अनिवार्य गर्दा नेपालको पदमार्ग असुरक्षित भन्ने पनि देखाउँछ,’ उनले भने, ‘यसै त फेक रेस्क्युको त्रास, त्यसमा झनै यो नियमले गलत सन्देश फैलनेछ।’

उनले भारतीय र चिनियाँ पाहुना बढी प्रभावित हुने बताए। ‘भारतीय पाहुना मुक्तिनाथ जाँदा पनि बिमा चाहिन्छ। त्यो हिसाबले धार्मिक पर्यटक पनि प्रभावित हुनेछन्,’ भुजेलले भने, ‘त्यसैले केही उचाइ तोकेर मात्र त्यसभन्दा माथि जानेले बिमा गर्नुपर्ने भनेर अनिवार्य गर्न सकेको भए उपयुक्त हुन्थ्यो। नत्र सरकारले भिसा जारी गर्दा नै बिमाको व्यवस्था गरिदिन सक्छ।’ नेपाल आउने पर्यटकमध्ये ७५ प्रतिशत पदयात्रामा जाने भए पनि आजको भोलि निर्णय लागू गर्दा पर्यटक हच्किने त्रास रहेको भुजेलले बताए।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पदयात्रामा जाँदा पर्यटक बिरामी पर्ने र उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भएकोले पनि बिमा अनिवार्य गरेको बताउँछन्। ‘पदयात्रामा गएका पर्यटक बिरामी परेको बखत उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ। त्यो बेला उद्धार खर्च र अस्पतालमा उपचार महँगो पर्छ,’ घिमिरेले भने, ‘उद्धार र उपचार रकम कसले तिर्ने भन्ने विवाद नहोस् भनेर सबैका लागि यो निर्णय लागू गरेका हौं।’ भारतीय सहित सबै मुलुकका पर्यटकलाई छोटो वा लामो दुरीको कुनै पनि पदयात्रामा जाँदा बिमा अनिवार्य गरेको उनले बताए। ‘पदयात्रालाई अझै सुरक्षित गर्न चाहेका हौं,’ उनले भने, ‘पर्यटकको सुरक्षामा यसले सहयोग गर्ने अपेक्षा छ।’

प्रकाशित: १३ मंसिर २०७५ ०४:०१ बिहीबार

पदयात्रा पर्यटक बिमा