अर्थ

भृकुटीमण्डपमा बिहीबारबाट नेपाल चेम्बर एक्स्पो

काठमाडौं – बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०१८ हुने भएको छ। नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्ने उक्त एक्स्पो पाँच दिन चल्ने बताइएको छ।

देशको समग्र विकास, निजी क्षेत्रकोे सशक्तीकरणबाट मात्र सम्भव हुने नाराका साथ उक्त मेला गर्न लागेको आयोजकले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एव व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा मेला हुन लागेको हो।

निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासँग केन्द्रित क्रियाकलाप मेलाको प्रमुख उद्देश्य रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

चौथोपटक आयोजना हुन लागेको मेलामा म्यानमारका उत्पादनलाई विशेष रुपमा समावेश गरिएको श्रेष्ठको भनाइ छ। म्यानमारका लागि नेपालका राजदूत भिम उदासले पहिलोपटक म्यानमारका उद्यमीहरु मेलामा स्टल सहित सहभागी हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिए।

मेलामा नेपाल लगायत चीन, पाकिस्तान, बंगलादेश, कोरिया, भारत, जापान र अन्य मुलुकमा उत्पादित सामग्री रहने छन्। मेलाको चौथो संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइएको चेम्बरको भनाइ छ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने आयोजकको विश्वास छ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ। प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमी समेत गर्ने उद्देश्य आयोजकको छ। यसपटकको मेलामा एक सय ९० स्टल रहेको आयोजकले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०४:०२ बुधबार

नेपाल_चेम्बर_एक्स्पो भृकुटीमण्डप