अर्थ

बिमा बोर्डको कार्यकारी निर्देशक नियुत्तिमा ढिलाइ

काठमाडौं – स्वास्थ्य बिमा ऐन जारी भएको एक वर्ष बितिसक्दा पनि स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक चयन हुन सकेको छैन। राजनीतिक खिचातानीका कारण निर्देशक चयनमा ढिलाइ भएको स्रोतले बताएको छ।

स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको लागी सातजनाले आवेदन दिएका थिए। जसमध्ये पाँचजनालाई स्वास्थ्य मन्त्रालयले चयन गरेको थियो। त्यस्तै, गत कात्तिक ६ र ७ गते लोक सेवा आयोगले पाँचजना निवेदकको अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्ताको आधारमा आयोगले पहिलो नम्बरमा दामोदर बसौला, दोस्रो नम्बरमा श्रीमान् कार्की र तेस्रोमा रमेशराज प्रोख्रेललाई चयन गरेको थियो। अन्तिम तीनमा छानिएकालाई आयोगले कात्तिक ७ गतै नै स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको थियो।

आयोगले सिफारिस एक महिना बितिसक्दा पनि सरकारले निर्देशक चयन गर्न नसक्दा बोर्डको कामकारबाही अन्योलमा परेको छ। यता सरकारले लामो समयसम्म पनि निर्देशक नियुक्त नगर्दा राजनीतिक चलखेल भएको हुन सक्ने सरोकारवालाहरुले अनुमान गरेका छन्।

ऐन अनुसार स्वास्थ्य मन्त्रालयले गत भदौ २४ गते कार्यकारी निर्देशकको लागी निवेदन आह्वान गरेको थियो। उक्त पदका लागि सातजनाले निवेदन दिएका थिए। जसमध्ये दुईजनाको योग्यता नपुगेको भन्दै मन्त्रालयले निवेदन रद्द गरेको थियो। बाँकी पाँचजनाको लोक सेवा आयोगले परीक्षा लिएको थियो।

आयोगबाट पहिलो नम्बरमा छानिएका दामोदर बसौलाले बिमा विषयमा विद्यावारिधि गरेका छन्। उनी बिमा विषय अध्यापन गराउँछन्। उनी बिमासम्बन्धी अध्ययन अनुसन्धानमा पनि सक्रिय छन्। बिमा समितिका पूर्व निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्की दोस्रो नम्बरमा परेका छन्। त्यस्तै, तेस्रो नम्बरमा परेका रमेशराज पोख्रेलले नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक हुन्।

बोर्डमा कार्यकारी निर्देशक नियुक्त नहुँदा बिमा विस्तार कार्य प्रभावित बनेको छ। पछिल्लो चार महिनामा कुनै पनि नयाँ काम हुन नसकेको बोर्डका एक कर्मचारीले बताए।

प्रकाशित: १२ मंसिर २०७५ ०३:२९ बुधबार

बिमा_बोर्ड कार्यकारी_निर्देशक_नियुत्ति