अर्थ

‘वाइड बडी’ खरिद प्रकरण : दोषी भेटिए कारबाही

पोखरा – नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइड बडी’ विमान भित्र्याउँदा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाइरहेका बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदमा कुनै गल्ती भेटिए जो कोही कारबाहीको दायरामा आउने प्रष्ट्याएका छन्।

गृह जिल्ला कास्की आएका मन्त्री अधिकारीले जहाज खरिद प्रक्रियामा अनियमितता भए नभएको बारे छानबिन भइरहेकाले अहिले नै सबै कुरा यकिन गर्न नसकिने बताए। ‘वाइड बडी खरिद प्रक्रियामा कुनै गल्ती भेटिए छानबिन गरेर कारबाही हुन्छ,’ अधिकारीले भने, ‘संसदका समिति र अख्तियारको छानबिन जारी छ। छानबिनको प्रक्रियामा दोषी भेटिए जो कोही कारबाहीको दावेदार हुनेछ।’

उनले दोषीबाट शोधभर्ना र क्षतिपूर्ति समेत भराइने बताए। ‘दोषीमाथि कारबाही हुन्छ, कोही उम्किन पाउने छैन,’ अधिकारीले भने। संसदको सार्वजनिक लेखा समिति लगायतका निकायले जहाज भित्र्याउँदा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको बताएको छ। त्यो छानबिनका क्रममा रहेकाले अहिले नै सबै कुरा भन्न नसकिने मन्त्री अधिकारीले बताए। खरिद प्रक्रियामा त्रुटि भए नभएको पत्ता लगाउने क्रममा आफूले छानबिनमा सघाउने समेत उनले बताए।

आफू पर्यटन मन्त्रालय आउनुअघि नै जहाज खरिदको सबै प्रक्रिया टुंगिएको र जहाज आउन मात्र बाँकी रहेको पनि अधिकारीले बताए। ‘म आउनुअघि नै जहाज खरिदको प्रक्रिया टुंगिएको थियो। तर मैले मन्त्रालयको जिम्मा लिएकाले जवाफ दिनुपर्ने हुन्छ,’ मन्त्री अधिकारीले भने।

‘जहाज भाडामा होइन, किनेको हो’
वाइड बडी जहाज भित्रिएपछि पनि सरकारले किनेको हो वा भाडामा ल्याएको भन्नेबारे आशंका उब्जिएको बारे सञ्चारकर्मीको जिज्ञाशामा मन्त्री अधिकारीले जहाज किनेको भनेर ठोकुवा गरेका छन्। उपलब्ध प्रमाणले जहाज किनेर ल्याएको नै भनेर भन्न सकिने उनले बताए। जहाज खरिदपछिको २५ करोड रुपैयाँ भन्सार समेत बुझाएकाले भाडामा भन्न नमिल्ने उनले बताए।

‘खरिदपछिको भन्सार २५ करोड रुपैयाँ बुझेको छ। अर्थ मन्त्रालयले त्यही अनुसार रकम निकासा दिएको छ। सञ्चय कोषले पनि रकम दिएको छ,’ उनले भने, ‘सरकारका ती निकायले यत्तिकै रकम पक्कै दिएनन् होला।’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्यो जहाजलाई आफ्नो हो भनेर सर्टिफिकेट पनि दिएको उनले बताए। त्यसबाहेक उडान भइरहेका गन्तव्यले समेत नेपालको जहाज भनेका छन्।

‘बिल हेर्दा सबै किनेको देखिन्छ। तर पनि छानबिनको प्रक्रियामा छ,’ उनले भने, ‘खरिद प्रक्रियामा त्रुटि छ भने खोजौं तर, स्वामित्व होइन भनेर शंका नगरौं।’ उनले जहाज भाडामा नभई किनेकै भनेर बारम्बार दोहोर्याएका थिए। ‘कसैले मेरो हो भनेर अहिलेसम्म जहाजलाई दाबी पनि गरेका छैनन्। यो भाडाको हो भनेर कसैले भनेका छैनन्,’ उनले भने।

नेपाल वायुसेवालाई कमजोर बनाउने खेल
वाइड बढी खरिद प्रक्रियाबारे छानबिन भइरहेका बेला पर्यटनमन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने खेल सुरु भएको बताएका छन्। ‘कसरी हुन्छ नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउने भन्ने थियो। तर, नेपाल एइरलाइन्सलाई कमजोर बनाउने चलखेल सुरु भएको छ,’ उनले भने, ‘सरकार नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन चाहन्छ। तर, यहाँ कमजोर बनाउने पहल भइरहेको छ।’

नेपाल वायुसेवा निगमले सेवा विस्तार गर्नका लागि जहाज भित्र्याएको उनले बताए। तर पनि केही प्राविधिक कारणले जहाजले पूर्ण क्षमतामा उडान भर्न नसकेको उनले बताए। ‘दैनिक १४ घण्टा उड्नुपर्ने जहाज अहिले सात घण्टा मात्र उडिरहेको छ,’ उनले भने, ‘युरोपियन युनियनको ब्ल्याक लिस्ट हटेपछि यो समस्या समाधान हुन्छ।’

उनका अनुसार आगामी फेब्रुअरीमा जापानको ओसाका र मार्चमा चीनसम्म नेपाल एयरलाइन्सले उडान थाल्ने तयारी छ। चीन र जापानसम्म सुरु भएपछि उडान अवधि झन्डै ११ घण्टा पुग्ने उनले बताए। ‘आफ्नै जहाज प्रभावकारी हुन नसके पर्यटन विकास हुन सक्दैन,’ उनले भने।

प्रकाशित: १० मंसिर २०७५ १६:०६ सोमबार

वाइड_बडी_जहाज_खरिद रवीन्द्र_अधिकारी