अर्थ

‘अनलाइन कारोबारले सेयर मूल्य बढाउँछ भन्नु भ्रामक’

काठमाडौं - अनलाइन प्रणालीबाट सेयर कारोबार हुन थालेपछि अन्तर्राष्ट्रिय सेयर बजारमा ६० प्रतिशतसम्म भाउ बढ्ने गरेको भन्दै प्रचार भइरहेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले त्यस्तो प्रचार भ्रामक भएको प्रस्ट पारेको छ। नेप्सेले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो भ्रामक प्रचारको पछि नलाग्न लगानीकर्तालाई सचेत गराएको छ।

‘अनलाइन कारोबार प्रणाली आएपछि सेयरको भाउ बढ्छ भन्ने किसिमको भ्रामक प्रचार भइरहेको छ भने त्यसतर्फ सजग हुन अनुरोध गरिन्छ,’ नेप्सेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर बजारको घटबढ माग र आपूर्तिमा निर्भर गर्दछ।’

सेयरको मूल्यमा घटबढ र अनलाइन कारोबार प्रणाली नितान्त फरक विषय भएको समेत नेप्सेको भनाइ छ। ‘सेयर बजार वृद्धिमा सूचीकृत कम्पनीको वित्तीय अवस्था, नाफा नोक्सान, भविष्यको सम्भावना, व्यवस्थापन पक्ष तथा सञ्चालकको छविले ठूलो भूमिका खेलेको हुन्छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै, सूचीकृत कम्पनीलाई हेर्ने विद्यमान र सम्भावित लगानीकर्ताको दृष्टिकोणले पनि सेयर बजारमा उतारचढाव ल्याउने गरेको नेप्सेको भनाइ छ।

लगानीकर्ताले अनलाइन प्रणालीले काम नगरेको गुनासो गरिरहेका बेला नेप्सेले अनलाइन प्रणालीमा क्रमिक रुपमा सुधार हुँदै गएको पनि बताएको छ। ‘कारोबार दिनका आधारमा अनलाइन सुरु भएको जम्मा नौ दिन मात्र पूरा भएको छ। यस अवधिमा कारोबार संख्या, कारोबार रकम, कारोबार भएको सेयर कित्ता लगायतमा क्रमिक सुधार हुँदै गएको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ प्रणाली भएकाले सुरुवाती दिनहरुमा सानातिना समस्या आउनु स्वाभाविक भएको तर्क पनि उसले गरेको छ। केही सरोकारवालाहरुले अनलाइन कारोबार प्रणाली स्थापना भइसकेपछि सेयरको मूल्य तथा बजार परिसूचक बढ्न नसकेको गुनासो गरेको जानकारीमा आएको नेप्सेको भनाइ छ।

नयाँ अनलाइन प्रणालीमा २० वटा भाग रहेका र त्यसमध्ये अधिकांश सञ्चालनमा ल्याइएको उसको भनाइ छ। यसैगरी, लगानीकर्ताले विद्युतीय माध्यमबाट तत्काल राफसाफ तथा फस्र्योटको व्यवस्था गर्न माग भइरहेको पनि जनाएको छ।

यसका लागि हाल नेप्सेमा आबद्ध भएका चारवटा क्लियरिङ बैंकमध्ये एउटाले मात्र विद्युतीय माध्यमबाट राफसाफ गर्न सक्ने क्षमता विस्तार गरेको र बाँकी तीनवटाले गर्न बाँकी रहेको छ। बाँकी तीनवटाले पनि यससम्बन्धी तयारी गर्न गृहकार्य थालिसकेका छन्। यसैगरी, नयाँ क्लियरिङ बैंक थप्ने कार्य पनि अघि बढाइएको नेप्सेले उल्लेख गरेको छ।

अनलाइन प्रणालीमा सुधार नभएको भन्दै लगानीकर्ता पुगे नेप्सेमा
नेपाल पुँजी बजार लगानीकर्ता संघले अनलाइन प्रणालीमा सुधार नभएको भन्दै नेप्सेको ध्यानाकर्षक गराएको छ।

संघका प्रतिनिधिले मंगलबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई भेटेर अनलाइन प्रणाली सुधार गर्न आग्रह गरेका थिए। उनीहरुले ज्ञापनपत्र समेत बुझाएका थिए। अनलाइन प्रणाली आउँदा अन्तर्राष्ट्रिय सेयर बजारमा ६० प्रतिशतसम्म बजार बढेको र नेपालमा पनि बजार बढ्ने आशा गरिएको थियो। तर निराश मात्र भएको गुनासो उनीहरुले गरेका थिए।

लगानीकर्ताले बजार सुधार नभए हजारौं लगानीकर्ताले नेप्से घेराउ गर्ने चेतावनीसमेत दिएका थिए। उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत साउदले अनलाइन प्रणालीमा सुधार हुँदै गएको हुँदा नआत्तिन अनुरोध गरेका थिए।

संघकी अध्यक्ष राधा पोखरेलले चाँडो लगानीकर्ताको हातमा अनलाइनमा ल्याउन आग्रह गरिन्। यसअघि नेपाल इन्भेस्टर फोरमले पनि नेप्सेमा गएर अनलाइन प्रणालीमा सुधार गर्ने अनुरोध गरेको थियो।

प्रकाशित: ६ मंसिर २०७५ ०४:०६ बिहीबार

अनलाइन_प्रणाली सेयर_कारोबार