अर्थ

चिनीको अनियमितताको छानविन गर्न अख्तियारलाई निर्देशन

फाइल तस्बिर

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ।

समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ। समितिको गत असोज १८ गतेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको थियो । 

उपसमितिको सिफारिशअनुसार आज बसेको समितिको बैठकले आयोगलाई विस्तृत छानबिनका लागि निर्देशन दिने निर्णय गरेको सभापति भरतकुमार शाहले जानकारी दिए। समितिले दशैँअघि चिनीको मूल्य ६३ रुपैयाँ प्रति किलो गराउन दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन।

समितिले संघीय, प्रदेश र स्थानीय सरकारलाई सामाजिक संस्थाको सहभागितामा निरन्तर बजार अनुगमन गर्न पनि निर्देशन दिएको छ । मूल्य विश्लेषण, निर्धारण, नियन्त्रण र नियमनका लागि तत्काल निर्दे्शिका तयार गरी लागू गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको संविधानको धारा ४४ को प्रचलनको लागि पारित गरिएको उपभोक्ता संरक्षण ऐन, २०७५ अविलम्ब नेपाल राजपत्रमा प्रकाशित गरी लागू गर्न समितिले भनेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी अधिकार सम्पन्न उपभोक्ता संरक्षण विभाग गठन गरी काम गर्न बैठकले निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग एकीकृत तथ्याङ्क उपलब्ध गराउने संयन्त्र नभएकाले बाहिर आउने तथ्याङ्क आपसमा विरोधाभाषपूर्ण र अनुमानमा आधारित हुने गरेको समितिको ठहर छ । 

समितिले अर्थ मन्त्रालयलाई चिनी पैठारीमा लगाइएको पूर्ण बन्देज हटाउन, परिमाणात्मक बन्देजलाई बजारको मूल्य स्थिर राख्न आवश्यक परिमाणको आयात खुला गर्न, भन्सार दरमा समयानुसार पुनरावलोकन गर्न र परिमाणात्मक बन्देजलाई बजारको माग एवं आपूर्तिसँग सन्तुलन गराउने रणनीति तयार गर्न निर्देशन दिएको छ । 

समितिले गैरकानूनीरूपमा उखु पैठारीमा कडाइ गरी नेपाली किसानको उखु समयमै चिनी उद्योगमार्फत् खरीद गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।सरकारले उखु किसानलाई दिने सहुलियत, चिनी उद्योगीले तिर्नुपर्ने बक्यौता नियमित भुक्तानी दिने समयसारिणीको व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकमा सांसद विशाल भट्टराई, लेखराज भट्ट, हृदयेश त्रिपाठी, विरोध खतिवडा, डा मीनेन्द्र रिजाल, मैयादेवी भण्डारीले चिनीलगायत उपभोग्य वस्तुको अनियमितता सम्बन्धमा सरोकार भएका निकायका अधिकारीलाई बोलाइ विस्तृत छलफल गर्न माग गरेका थिए। रासस

प्रकाशित: ४ मंसिर २०७५ ११:३४ मंगलबार

सार्वजनिक_लेखा_समिति चिनीको_मूल्यवृद्धि अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग छानबिन निर्देशन