अर्थ

सस्तोमा उखु बेच्न किसान बाध्य

रौतहटको गढीमाइ–४ सुन्दरपुरमा सञ्चालित सख्खर उद्योग। तस्बिर : मदन/नागरिक

रौतहट - रौतहटका उखु किसान गत वर्षको मूल्यभन्दा आधा कम मूल्यमा उखु बेच्न बाध्य भएका छन् । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा सञ्चालित एक दर्जभन्दा बढी सख्खर उद्योगले उखु किसानलाई उचित मूल्य नदिएपछि गत वर्षको सरकारी मूल्यभन्दा आधाभन्दा पनि कम मूल्यमा उखु बेच्न बाध्य भएका हुन्।

गत वर्ष सरकारले तोकेको उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँँ तोकेको थियो । तर निर्वाचनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकार गठन भएपछि उखुको मूल्यलाई पुनर्मूल्यांकन गर्दै पाँच रुपैयाँ थपेर प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँँ पु¥याएको थियो । तर अहिले सख्खर उद्योगसित किसानले प्रतिक्विन्टल दुई ५० देखि दुई सय ७५ रुपैयाँसम्म बेच्न बाध्य भएका छन् । आधाभन्दा कम मूल्यमा पनि किसानले उखु बेच्न बाध्य हुँदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्नु किसानका लागि दुर्भाग्य भएको गढीमाई–४ पर्साका नरेन्द्र ठाकुरले बताए।

रौतहटको सुन्दरपुरमा सञ्चालित दर्जनभन्दा बढी सख्खर उद्योगले गत असोजदेखि नै प्रतिक्विन्टल दुई सय ५० रुपैयाँमा उखु किन्न सुरु गरेका थिए । अहिले उखुको जात हेरी घटीमा दुई सय ५० र बढीमा दुई सय ७५ रुपैयाँ प्रतिक्विन्टलमा सख्खर उद्योगले उखु किनिरहेको किसानहरु बताउँछन्।

गढीमाई–४ का नरेन्द्र ठाकुरले करिब तीन बिघा खेतको उखु दुई सय ५० देखि  दुई सय ७५ रुपैयाँसम्ममा बेचिसकेका छन् । रौतहटबाट उखु किन्ने चिनी उद्योगले गत चार वर्षदेखिको पैसा भुक्तानी नगरेका कारण किसान सस्तोमा उखु बेच्न बाध्य भएको ठाकुरको भनाइ छ । रौतहटको गरुडामा रहेको श्री राम सुगर मिल्सले पनि करिब १८ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए।

चिनी उद्योगलाई उखु बेचेपछि पैसा कहिले हातमा पर्ने भन्ने निश्चित नहुने तर सख्खर उद्योगलाई उखु बेचेपछि दुई हप्तामा रकम हातमा आउने हुनाले उखु किसानलाई घर व्यवकार चलाउन, छोराछोरीलाई पढाउन, चाडपर्व मनाउनलगायत काममा सजिलो हुने हुनाले किसानले सस्तैमा उखु बेच्न बाध्य भएको ठाकुरको भनाइ छ।

उखु बेचिसकेपछि खाली भएको जमिनमा तरकारी खेती वा रवि बाली लगाउन पाइने भएकाले कतिपय किसानले चिनी उद्योगले किन्ने उखुको भाउभन्दा राम्रो आय आर्जन खेतबाट पनि गर्ने हुनाले पनि आधाभन्दा बढी सस्तोमा उखु बेचेर ठगिँदा पनि किसान उखु बेच्न तँछाडमछाड गर्ने गरेका समनपुरका अगुवा किसान कामेश्वर सहनीको भनाइ छ । उखु नगदेवाली उखान मै सिमित भएकाले सस्तोमा बेचिरहेको किसान सहनीको भनाइ छ । चिनी मिलको भरमा ६ बिघा जमिनमा उखु खेती गरेको तर नगदेबाली चिनी मिललाई बेच्दा वर्षौसम्म भुक्तानी नदिँदा उद्यारोमा परिणत भएपछि यसपाली थोरै रकम भएपनि नगदै हातमा आउने र अर्को बाली पुनः लगाउने भएकाले सख्खर उद्योगसित कौडीको मूल्यमा उखु बेचिरहेको सहनीको तर्क छ।

चिनी उद्योगले किसानलाई उखुको भुक्तानी दिन बाँकी रहेको छ । गरुडामा रहेको श्रीराम सुगर मिलले यसपालि किसानबाट खरिद गरेको उखुको भुक्तानी गर्ला कि नगर्ला भन्ने आशंका कायम रहेको अवस्थामा जिल्लाका अधिकांश किसान नगद दिने खाँडसारी एवं सख्खर उद्योगतर्फ आकर्षित हुन थालेको संग्रामपुरका रामएकवाल चौधरीको छ।

जिल्लामा २० लाख क्वीन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । सुरुमा वाली लगाएदेखी चिनिमिल अथवा सख्खर उद्योगमा भियाउने बेलासम्म प्रतिकट्ठा चार हजार रुपैयाँसम्म उखु उत्पादनमा किसानको खर्च पर्न आउँछ । तर, उखुबाली राम्रोसँग फस्टाउँदा १० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको किसानको भनाइ छ । तर समयमा उद्योगीले किसानलाई रकम नदिँदा किसान चारैतिरबाट मारमा पर्ने गरेका छन्।

प्रकाशित: ३ मंसिर २०७५ ०५:०२ सोमबार

रौतहट उखु_किसान