अर्थ

हस्तकला मेलामा सवा नौ करोडको कारोबार

काठमाडौं – नेपाल हस्तकला महासंघले आयोजना गरेको १६औं हस्तकला मेलामा आठ करोड ७५ लाखको कारोबार भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको मेला आइतबार सकिएको हो।

दुई सय स्टल रहेको मेला एक लाख ३५ हजारले अवलोकन गरेको मेला प्रचारप्रसार प्रमुख होमनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार यसपटकको मेला भव्य रुपमा सकिएको छ।

हस्तकलाको कुम्भ मेलामा छवालीको कला प्रस्तुत गर्नेदेखि ढाका, काष्ठ र अल्लोको कला देखाउनेको छुट्टै रौनक थियो । हातले बुनेका र बनाएका मात्रै नभएर विभिन्न कला–संस्कृति र मौलिक पहिचान झल्कने धातुजन्य मूर्ति समेत मेलामा राखिएका थिए।

यस्तै, १४औं हस्तकला प्रतियोगितात्मक हस्तकला प्रदर्शनीले मेलामा रौनक थपेको उपाध्यायको भनाइ छ।

मेलामा नेपालको सातवटै प्रदेशका जिल्ला हस्तकला संघ, वस्तुगत संघका साथै नेपाल सरकार, गरिबी निवारण कोष समेतको सहभागिता थियो।

प्रकाशित: ३ मंसिर २०७५ ०४:३८ सोमबार

नेपाल_हस्तकला_महासंघ हस्तकला_मेला