अर्थ

पाँच क्षेत्रमा लगानी आवश्यक : विश्व बैंक

काठमाडौं – विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले गरेको एक अध्ययनले नेपालमा दिगो लगानी र उत्पादकत्व बढाउनका लागि विभिन्न पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने औंल्याएको छ।

अध्ययनले पर्यटन, कृषि व्यवसाय, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको क्षेत्रमा व्यापक लगानीको आवश्यकता रहेको उल्लेख गरेको छ । निजी क्षेत्रको सहभागिताबिना पर्याप्त लगानी सम्भव नहुने जनाउँदै अध्ययनले निजी लगानीका लागि क्षेत्रले बेहोर्दै आएको विद्यमान अवरोध हटाउन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको छ। प्रतिवेदनमा नेपालमा निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्न रहेका मुख्य अवरोध, चुनौती तथा समाधानका उपायहरु सुझाइएको छ।

नेपालमा पर्यटन, कृषि व्यवसाय, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा लगानी आवश्यक रहेको विश्व बैंक र आइएफसीले औंल्याएको छ ।

‘क्रियटिङ मार्केटस् इन नेपाल : कन्ट्री प्राइभेट सेक्टर डाइग्नोस्टिक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हार्टविग साफरले नेपालमा निजी क्षेत्रलाई लगानी र व्यवसायका लागि केही कानुनी र व्यवहारिक चुनौति रहेको बताए । ती चुनौतीलाई हटाउँदै लगानीको वातावरण बनाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए।

आइएफसीकी नेपाल, भुटान र भारतका लागि निर्देशक वेन्डी जो वेर्नरले नेपालमा स्थिर सरकार आएसँगै लगानीका अवसर सिर्जना भएको बताइन् । नेपालको आर्थिक विकासमा सार्वजनिक क्षेत्रको तुलनामा निजी क्षेत्रको योगदान बढी रहेको उल्लेख गर्दै उनले समृद्धिको लक्ष्यमा पुग्न आवश्यक लगानीका लागि अझ निजीक्षेत्रमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिइन् । उनले आगामी तीन वर्षमा निजी क्षेत्रमार्फत् ८० करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) लगानी गर्ने योजना रहेको जानकारी दिइन्।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले अध्ययनमा औंल्याइएका समस्याहरु यथार्थ रहेको भन्दै त्यसलाई सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । निजी क्षेत्रलाई लगानीका लागि अप्ठेरो पार्ने केही ऐन कानुन संशोधन एवं खारेजीको प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न तयार रहेको र त्यसअनुसार नै सरकारले काम गरिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ।

प्रकाशित: १ मंसिर २०७५ ०२:१४ शनिबार

विश्व_बैंक अन्तर्राष्ट्रिय_वित्त_निगम