अर्थ

निबन्धका विजेतालाई पुरस्कार

काठमाडौैं – महालक्ष्मी विकास बैंक लिमिटेडको विराटनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत आइतबार ६३औं प्रहरी दिवसको अवसरमा प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेको छ।

देशमा यौनजन्य अपराध बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यस किसिमको जघन्य अपराध रोकथामका उपाय खोज्ने उद्देश्यले प्रदेश नं १ प्रहरी कार्यालयले आयोजना गरिएको ‘यौनजन्य हिंसा : कारण, रोकथाम र नागरिकको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरेको बैंकले जनाएको छ।

प्रतियोगितामा सो प्रदेशका १४ जिल्लाका सबै विद्यालयका नौ, १०, ११, र १२ कक्षामा अध्ययनरत विद्यार्थीबाट उत्कृष्ट तीनजना छानिएका थिए । बैंकले सहभागी विद्यार्थीमध्येबाट निकै चेतनामूलक र प्रभावकारी उपायको बर्णन गर्न सफल तीन विद्यार्थी–– सुश्री मोनिका कार्की, सुश्री विपना बराइली र सुश्री समीक्षा अधिकारीलाई क्रमशः २० हजार, १५ र १० रुपैयाँले पुरस्कृत गरेको बैंकले जनाएको छ । पुरस्कार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विजेतालाई हस्तान्तरण गरेका थिए।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७५ ०५:२० बुधबार

महालक्ष्मी_विकास_बैंक निबन्ध_प्रतियोगिता