अर्थ

बिचौलियाको मारमा कुखुरापालक किसान

चितवन - भरतपुर महानगरपालिका–२० का मदन बरालको खोरमा अहिले ५२ दिन पुगेका कुखुरा छन्। ब्रोइलर पाल्दै आएका उनले ८० रुपैयाँ गोटामा दुई हजार चल्ला राखेका थिए। कुखुरा बेच्न तयार भएपछि उनले एक सय ५० रुपैयाँ किलोमा केही कुखुरा बिक्री गरे। दुई गाडी बेचेपछि व्यवसायीले उक्त मूल्यमा कुखुरा उठाउन मानेनन्। व्यवसायीले नलगेपछि बरालको खोरमा करिब एक हजार दुई सय कुखुरा बाँकी छन्।

‘आधाभन्दा बढी कुखुरा बाँकी छन्,’ उनी भन्छन्, ‘एक सय ३० मा लैजान मान्छन् कसरी बेच्नु त्यतिमा?’ ८० रुपैयाँ दरमा चल्ला हालेका एक सय ६० रुपैयाँ प्रतिकिलोमा बेच्न पाए सराबरी हुने किसान बराल बताउँछन् । त्यसले फाइदा नभए पनि घाटा नहुने उनको बुझाइ छ। १८ वर्षदेखि कुखुरापालन गर्दै आएका उनले यसअघिका वर्ष पनि कुखुरापालनमा घाटा बेहोरेका छन्। ‘पहिला पनि मूल्यमा उतारचढाव हुन्थ्यो,’ उनले भने, ‘यो वर्ष अलि धेरै घाटा भइरहेको छ।’

भरतपुर–२३ नयाँबस्तीका किसान शोभाकर भट्टराईको खोरमा पनि ५० दिन नाघेका पाँच सय कुखुरा छन् । अर्को खोरमा आठ सय कुखुरा हुर्किदै छन्। ८३ रुपैयाँ गोटामा चल्ला किनेर हुर्काएको कुखुरा बेच्ने बेलामा एक सय ३० रुपैयाँ किलो बजार मूल्य भएको छ। गाउँघरमा खुद्रा लिन आउनेलाई एक सय ५० रुपैयाँ किलो दरमा करिब तीन सय कुखरा बिक्री गरेको उनले बताए।

‘मासु काटेर बेच्नेले दुई–चारवटा लिन आउँछन्,’ उनी भन्छन्, ‘बिक्री गर्छु भन्दा लागत मूल्य पनि पाइएको छैन ।’ ब्रोइलर कुखुरा ४५ दिनको आसपासमा बेच्ने गरिन्छ। भाउ नपाउँदा बिक्री गर्ने समय भएका कुखुरा पनि किसानले खोरमा नै राखिराखेका छन् । वर्षमा एक लटमा घाटा भए पनि अर्को लट कुखुरा पाल्दा किसानले फाइदा लिन पाउँथे । अहिले दुई–तीन लट पाल्दा पनि घाटा परेको किसानको गुनासो छ।

नेपाल कुखुरापालक किसान संघ चितवनले कखुरा उत्पादन गर्दा लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने माग राख्दै अघिल्लो भरतपुरमा विरोध -याली आयोजना गरेको थियो। किसानले लागत मूल्य अनुसार बिक्री मूल्य नपाएको समितिका अध्यक्ष नारायण दवाडी बताउँछन्। किसानले अहिले बिक्री गर्न योग्य भएका धेरै कुखुराका चल्ला ९० रुपैयाँको दरमा राखिएको उनले बताए।

महंगोमा चल्ला राखेर सस्तोमा कुखुरा बेच्नुपर्दा किसान घाटामा भएको बताउँदै उनी भन्छन्, ‘दाना र चल्लाको मूल्य बढी हुँदा कुखुराको मूल्य पनि बढी पाउनुपर्छ।’ किसानकोबाट अहिले एक सय ३० रुपैयाँ किलोमा कुखुरा उठाइए पनि उपभोक्ताले दुई सय ६० रुपैयाँ किलोमा मासु खानुपरेको छ। यसले किसान र उपभोक्तालाई घाटा पारी बिचौलियालाई फाइदा पु-याएको छ। मूल्य गिरावटलाई सम्बोधन नगरी देशभरका किसान मिलेर चल्ला नहाल्नेसम्मको दबाबमूलक आन्दोलन गरिने अध्यक्ष दवाडी बताउँछन्।

नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेलका अनुसार ब्रोइलर कुखुरापालनमा चितवन अरु जिल्लाको तुलनामा अगाडि छ । चितवनको १५ प्रतिशत हिस्सा रहेको छ । दैनिक चार–पाँच गाडी कुखुरा जिल्लाबाट निर्यात गरिन्छ । किसानले ब्रोईलर पाल्दा एक वर्षमा पाँच लटसम्म कुखुरा उत्पादन गर्न सक्छन्। नेपालमा अहिले धेरै जसो किसान कुखुरापालनको बजारको अस्तव्यस्ताले हेर र पर्खको अवस्थामा बस्ने गरेका छन् । अधिकांश किसानले बढीमा तीन लटसम्म कुखुरा उत्पादन गर्ने गरेको पाईन्छ।  

संघमा चितवनका दुई सय देखी २० हजारसम्म कुखुरापालन गर्ने करीब १४ सय किसान आबद्ध छन् । दाना आफै बनाउने र ठूलो परिमाणमा पाल्ने केही किसान संघमा आबद्ध नभएको पौडेल बताउँछन् । पोल्ट्री सेक्टरलाई श्रीलङ्कन मोडेलको ढाँचा दिनुपर्छ भनेर कुरामा मात्र सिमिति गरिएको अध्यक्ष पौडेल बताउँछन् । ‘त्यहाँ अण्डा, चल्ला सबैको उत्पादन गर्दा कति लागत लाग्छ भनेर सरकारले नै मूल्य निर्धारण गरिदिन्छ’ उनले भने, ‘त्यसैले पो त्यहाँ पोल्ट्री सेक्टरको बजार सदाबहार छ।’

प्रकाशित: २५ कार्तिक २०७५ ०५:१४ आइतबार

कुखुरा किसान