अर्थ

चियाको ब्रान्ड प्रवद्र्धन गर्न माग

काठमाडौं – नेपाली चियाको ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्योगीले माग गरेका छन्। नेपाली बगानमा अर्गानिक चिया उत्पादन भए पनि चियाको ब्राण्डिङ नहुँदा अन्तर्राष्ट्रिय बजारमा उचित मूल्य पाउन नसकेको बताए।

नेपाल उद्योग परिसंघले सोमबार राजधानीमा आयोजना गरेको नेपालमा चिया क्षेत्रको विकासका लागि सरकारी निकायको भूमिका विषय अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो आग्रह गरेका हुन्। कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरले चियाको उत्पादन तथा बजारीकरण बढाउन सरकारले सघाउनुपर्ने बताए।

अन्तर्राष्ट्रिय श्रम संगठनको उन्नती परियोजना अन्तरगत परिसंघले एडभोकेसी गर्दै आएको छ  । नेपाली चियालाई बाह्य देशका व्यापारीहरुले सस्तोमा खरिद गरेर त्यहाँको ब्रान्डबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेकोले नेपालको ब्रान्ड प्रवद्र्धन गर्न आग्रह गरे । सो अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय कार्यक्रम संयोजक नविनकुमार कर्णले नेपाली चिया गुणस्तरीय हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन नसकेको बताए । चिया उत्पादनका लागि स्थानीय तहमा बहुकर प्रणाली बाधक भएको बताए।

चिया किसानलाई सरकारले प्रोत्साहन गर्नुपर्ने राष्ट्रिय श्रम प्रतिष्ठानका अध्यक्ष शिव शर्माले बताए । चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि लोगो तयार गरेको नेपाल चिया तथा कफी विकास बोर्डका उप–निर्देशक रघुपति चौधरीले बताए । चियाको व्यवसायीकरणका लागि सरकारले स्पष्ट नीति ल्याउनु पर्ने उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । कार्यक्रमका सहभागीले चिया खेतीमा देखिएका समस्या नीतिगत रुपमै समाधान गर्न माग गरे  । उद्योगीले निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने माग गरेका छन् । व्यवसायिक चिया उत्पादन वृद्धि गर्न चिया सबैसँग सहकार्य आवश्यक रहेको औंल्याए । अहिले नेपालमा अर्थोडक्स, ग्रिनटी र सिटिसी चिया उत्पादन हुदै आएको छ।

प्रकाशित: २० कार्तिक २०७५ ०४:५१ मंगलबार

नेपाली_चिया बजार