अर्थ

वीरगन्जमा चारतारे होटेल

वीरगन्जको आर्दशनगरमा बनेको दियालो होटेल। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - आफ्नो जामानाको वीरगन्जको चर्चित होटेल दियालो अब नयाँ स्वरुपमा चारतारे होटेल बनेर सञ्चालन हुने तयारीमा छ। ‘नाम दियालो नै छ, होटेल चाँही पूर्ण रुपमा नयाँ हो,’ होटेलका एकजना लगानीकर्ता अनिल रुँगटाले भने, ‘करिब ८० करोड रुपैयाँ लागतमा हामीले चारतारे श्रेणीको आधुनिक होटेल सञ्चालनमा ल्याउने तयारीमा छौं।’

६२ वटा कोठा, दुई ठूलो बैंकेट हल, स्विमिङ पुल, फेमिलि रेस्टुरेन्ट, बार, जिम हाउस, स्पा, कन्फ्रेन्स हल, पार्किङ र विदेशी पाहुनाका लागि क्यासिनोसहित सञ्चालनका लागि वीरगन्जको मुख्य बजार क्षेत्र आदर्शनगरमा होटेलको भवन तयार भइसकेको छ । तीन कट्ठा जग्गामा बनेको, भुईतल्लासहित नौतले भवनको चौथो तल्लामा स्विमिङपुल छ । काठमाडौं र पोखरापछि मोफसलकै आधुनिक होटलको रुपमा यो होटेल स्थापित गर्न लागेको सञ्चालकको दाबी छ।

वीरगन्जमा पुरानो होटेलमध्ये दियालोको नाम एक जमानामा यहाँ निकै चलेको थियो । पैगोडा शैलीमा निर्मित दुईतले भवनमा रहेको दियालो चल्नुको मुख्य कारण थियो त्यसको सजावट, बनावट र अवस्थिति । अहिले पुरानो बसपार्क भनिने उतिबेलाको बसपार्कसँगै रहेको होटेलको पछाडिपट्टी थियो आदर्शनगर बजार । जहाँ चिनियाँ सामान किन्न भारतीयको घुइँचो हुन्थ्यो । कलान्तरमा बसपार्क स¥यो र अरु नयाँ होटेल पनि खुले । दियालोको उज्यालो विगत धमिलो वर्तमान बन्न लागेको थियो । यस्तोमा उद्योगीको एउटा समूहले दियालो होटेल किन्यो । साबिकका होटेल सञ्चालक कृष्णमान श्रेष्ठले आग्रह गरे, ‘नयाँ होटेलको नाम सम्भव भए दियालो नै राख्नु।’

‘उहाँले आग्रह गर्नुभयो, होटेलको नाम पनि ठिक थियो,’ रुँगटाले भने, ‘हामीले यसलाई आधुनिक होटेलको रुपमा सञ्चालनमा ल्याउन मुम्बईको एउटा होटेल व्यवस्थापन कम्पनीलाई अनुबन्धित गरेका छौं ।’ भौतिक पूर्वाधारमा करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको होटेल सजावटको काम भइरहेको सञ्चालकले बताएका छन् । होटेलका ६२ कोठामध्ये चारवटा ‘स्विट’हरु रहेका छन् । त्यसपछि ‘डिलक्स’ र ‘स्ट्यान्डर्ड’ कोठा ५८ वटा छन् । सबै कोठा वातानुकुलित छन् । फर्निचर र सजावटका उत्कृट सामग्री प्रयोग भइरहेको सञ्चालकले जनाए।

हेटेलमा पाँच–पाँच सय क्षमताका बैंकेट हल दुईवटा छन् । जसलाई बिहेबारी र अरु ठूलाखाले समारोह गर्न सकिनेछ । यी बैंकेटलाई ‘पार्टिसन’ गरेर दुई सय क्षमताका चारवटा बैंकेट बनाउन सकिने गरी डिजाइन गरिएको होटेलका अर्का लगानीकर्ता विशाल पटवारीले बताए । त्यस्तै विभिन्न कार्यक्रमहरु गर्न सकिने गरी अर्को दुईवटा सुविधासम्पन्न ‘कन्फ्रेन्स हल’ पनि रहेको उनले जनाए । ‘स्विमिङ पुल’, ‘जिम’ र ‘स्पा’जस्ता सुविधा आफूहरुले पाहुनालाई उपलब्ध गराउने व्यवस्था गरेको पटवारीले जानकारी गराए । विदेशी पाहुनालाई ध्यानमा राखेर क्यासिनो सञ्चालनका लागि सेवाप्रदायक कम्पनीलाई आफूहरुले होटेलभित्र ठाउँ उपलब्ध गराउने उनले बताए।

‘वीरगन्जमा ठूलो लगानीका होटेल खुल्नु भनेको सहरको लागि राम्रो हो,’ होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले भने, ‘अलि उच्चस्तरीय पाहुनाहरु ठाउँ नभएकै कारण वीरगन्जमा टिक्दैनथे, त्यस्ता पाहुनालाई यहाँ रोक्न सक्ने होटेल बन्नु पर्यटन व्यवसाय र सहरका लागि आफैंमा सकारात्मक हो।’

कोठाहरुको दर वीरगन्जका अरु होटेलको तुलनामा अलि उच्च रहे पनि पनि गुणस्तरीय वातावरण र सेवाका हिसाबले ग्राहकले त्यसलाई उचित अनुभूति गर्ने पटवारीले बताए । देशकै प्रमुख व्यापारिक केन्द्र रहेको वीरगन्जमा मुख्य रुपमा व्यापारिक प्रयोजनका आगन्तुकलाई होटेलले लक्षित गरेको छ । त्यस्तै विदेशी र भारतीय पर्यटकलाई पनि होटेलले ध्यानमा राखेको छ । यसबाहेक बिबाह र अरु ठूलाखाले समारोहलाई लक्षित गरी होटेलले उपयुक्त सेवा सुविधामा ध्यान दिएको छ । आउदो डिसेम्बर महिनामा ‘सफ्ट ओपनिङ’ गरेर नयाँ वर्ष सन् २०१९ मा पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको पटवारीले बताए ।

प्रकाशित: १९ कार्तिक २०७५ ०४:०१ सोमबार

वीरगन्ज होटेल