धादिङ - कुनै बेला एक छाक टार्न धौंधौं पर्ने चेपाङ समुदायको जीवनशैली तरकारी खेतीले फेरिएको छ । बाँझो र पाखो बारीमा तरकारी लगाएर अहिले दुई छाक टार्ने मात्र होइन बेचेर मनग्य आम्दानी पनि हुन्छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित तिक्राङमा तरकारी बेच्न आएका गोरखाका देवीमाया चेपाङ तरकारी खेतीले जीवनस्तरमा सुधार भएको बताइन् । ‘पाखोबारी त्यत्तिकै खेर जाने गथ्र्यो,’ चेपाङले भनिन्, ‘अहिले जमिन खेर जाँदैन, तरकारीले हाम्रो परिचयसमेत फेरिएको छ।’
एक् छाक टार्न नजिकैको वनमा दाउरा खोजेर बिक्री गर्ने र मजदुरी गर्ने गरेका चेपाङ अहिले दैनिक तीन टनसम्म तरकारी उत्पादन गर्ने गर्छन् । मौसम अनुसार गोलभेंडा, सिमी, भेंडी, काउली लगायत तरकारी उत्पादन गर्ने गरेको चेपाङले बताइन् । ‘मौसम अनुसारको तरकारी उत्पादन गर्ने गरेका छौं,’ चेपाङले भनिन्, ‘तरकारी उत्पादन गरेर बेचेको पैसाले घरखर्च र बालबच्चाको पढाइमा खर्चने गरेकी छु ।’ गाउँमा समूह नै बनाएर तरकारी खेती गर्ने गरेको उनले बताइन्।
गण्डकी गाउँपालिकाको हिक्लुङ र ठूम्कामा ९४ घरधुरी चेपाङ रहेका छन् । अहिले यहाँका चेपाङ तरकारी खेती गरेर आम्दानी गर्ने गरेका छन् । यस भेगमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी खेतीका लागि तालिम तथा प्राविधिक सहयोग पनि प्रदान गरिएको थियो । तालिम तथा प्राविधिक सहयोगले नै जीवनशैली फेरिएको चेपाङको भनाइ छ । यहाँका हरेक परिवारले तीनदेखि पाँच रोपनी जग्गामा तरकारी खेती गरेका छन् । उत्पादित तरकारी काठमाडौं, पोखरा, नारायणगढ निर्यात हुने गरेको छ।
धादिङ र गोरखाको सिमानाको हिक्लुङघाटस्थित त्रिशुली नदीमा पुल बनेपछि तरकारी राजमार्गसम्म ल्याउन सहज भएको छ । पुल नबन्दा तरकारी आफैले खाएर सकाउनु पर्ने र बोटमा नै कुहिन्थ्यो, पुल बनेपछि गाउँदेखि हिक्लुङघाटसम्म तरकारी बोकेर ल्याउन ३० मिनेटदेखि दुई घन्टासम्ममा पुगिन्छ । अहिले तरकारी ग्राभिटी रोपवेमार्फत हिक्लुङघाटसम्म ओसार्ने गरिन्छ । ६ सय १२ मिटर लम्बाइ रहेको रोपवेमा तरकारी राखेपछि हिक्लुघाटमा संकलन गरिन्छ।
हिक्लुङ र ठूम्काबाट दैनिक ६ देखि १० टनसम्म तरकारी बेच्न हिक्लुङघाटमा ल्याइन्छ । चेपाङले उत्पादन गरेको तरकारी हिक्लुङ जलदेवी चेपाङ सहकारीमा संकलन गर्ने गरेका छन् । सहकारीमार्फत नै अन्य ठाउँमा बिक्रीका लागि लगिने गरेको चेपाङको भनाइ छ।
प्रकाशित: १८ कार्तिक २०७५ ०५:१८ आइतबार