अर्थ

तिहारमा लोडसेडिङ नहुने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणबाहेक आउँदो तिहारमा देशभर लोडसेडिङ नहुने घोषणा गरेका छन्।

बिहीबार प्राधिकरणमा गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले यसपटक तिहारमा १२ सय ७० मेगावाट बिजुली आवश्यक पर्ने अनुमान गरिएको बताए। ‘हामी अनुमानभन्दा बढी बिजुली माग भए पनि धान्न सक्ने अवस्थामा छौं,’ उनले भने।

कुलेखानी आयोजनामा १५२६ मिटर पानी जोहो गरेर राखेको उनले जानकारी दिए। ‘कुलेखानी १५२४–१५२५ मिटरभन्दा यसअघि कहिले पनि पानी जम्मा भएको थिएन,’ कुलमानले भने, ‘तर, यसपालि सबैभन्दा बढी १५२६ मिटर पानी जम्मा भएको छ।’

‘कतै कतै प्रविधिक समस्याले बत्ती जान सक्छ अन्यथा बिजुली कम भएर लोडसेडिङ गर्ने स्थितिमा हामी छैनौं,’ उनले भने, ‘तिहारमा कम्फर्टेबल स्थितिमा हुनेछौं।’

प्रकाशित: १६ कार्तिक २०७५ ०६:०८ शुक्रबार

नेपाल_विद्युत्_प्राधिकरण लोडसेडिङ