अर्थ

छुट गराउन टिआएलाई एअर एसियाले तिरेन १३ करोड

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) कार्यालयलाई सेवा शुल्क वापतको रकम नियमित नबुझाउँदा लागेको १३ करोड विलम्ब शुल्क (पेनाल्टी) चुक्ता नगरी मलेसियन एअर कम्पनी एअर एसियाले नेपाल उडान बन्द गरेको छ।

पेनाल्टी रकम छुट गर्नुपर्ने माग राख्दै आएको एअर एसियाले असोज २७ गतेदेखि नेपालको उडान बन्द गरेको हो । एअर एसियाले विमानस्थललाई सुरुदेखिकै बक्यौता रकम बाँकी राखेको थियो । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बक्यौता रकम २७ करोड र पेनाल्टी १३ करोड गरी ४० करोड रुपैयाँ बाँकी  थियो।

‘बारम्बारको ताकेता र चेतवानीपछि किस्ताबन्दीमा रकम घटाउँदै गयो,’ उनले भने, ‘अन्तिम समयमा आएर पेनाल्टीवापतको रकम भने तिरेको छैन ।’ एअर एसियाले पेनाल्टीवापतको रकम छुट दिनुपर्ने अडान राख्दै आएको थियो । तर, विमानस्थल कार्यालय भने पेनाल्टी रकम छुट दिन नमिल्ने र उक्त रकम नतिरे जहाज नै ‘ग्राउन्डेड’ गर्ने अडानमा बस्यो।

‘अन्तिम दिन पेनाल्टी रकम उठाउनका लागि एक घन्टासम्म जहाज ‘ग्राउन्डेड’ पनि गर्यौं,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘रकम चुक्ता गर्ने प्रतिबद्धता जनायो तर चुक्त गरेन ।’ उनका अनुसार जहाज ‘ग्राउन्डेड’ गर्दा एअर एसियाको केन्द्रीय कार्यालय मलेसियाले बक्यौता तिर्ने प्रतिबद्धता जनायो । त्यसैगरी नेपालस्थित मलेसियन राजदूतावासले पनि बक्यौता उठाउने सहयोग गर्ने जनाएपछि जहाज छोडियो।

तर, १५ दिन बित्दा पनि एअर एसियाले रकम चुक्ता गर्ने कुनै संकेत देखाएको छैन । क्षेत्रीका अनुसार बक्यौता रकम चुक्ता गर्न आइतबार एअर एसियाको केन्द्रीय कार्यालयमा पत्राचार गरिएको छ । त्यसको प्रत्युत्तरको पर्खाइमा विमानस्थल कार्यालय छ । केन्द्रीय कार्यालयले रकम तिर्न आनाकानी गरेको खण्डमा भने नेपालस्थित मलेसियन दूतावासलाई गुहार्ने उनले बताए।

स्रोतका अनुसार एअर एसिया भने पेनाल्टी रकम बुझाउनुको साटो छुट गराएर उम्किने पक्षमा छ । क्षेत्रीका अनुसार भने पेनाल्टी छुट गर्न मिल्दैन । ‘छुट गर्न मिल्दैन भनेर भनेर हामीले स्पष्ट भनेका छौं,’ उनले भने, ‘मन्त्रिपरिषद्ले मात्रै छुट गर्न सक्छ ।’ यस्तो विषयमा मन्त्रिपरिषद् पनि तयार नहुने उनको अनुमान छ।

मलेसिया जाने कामदार ठप्प भएपछि घाटा भएको भन्दै एअर एसियाले उडान बन्द गर्ने निर्णय गरेको थियो । सोमबार मलेसियासँग श्रम सम्झौता भएसँगै एअर एसियाले फेरि नेपाल उडान गर्न सक्ने अनुमान क्षेत्रीको छ । यसो भएको खण्डमा उक्त रकम उठाउन सहज हुन्छ । तर, यसबारे एअर एसियाले कुनै आधिकारिक धारणा दिएको छैन् । एयर एसियाका नेपाल प्रबन्धक निमेष शाक्यसँग विमानस्थललाई बुझाउनुपर्ने रकमबारे बुझ््न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । असोज असोज ८ गते नागरिकसँग भएको सम्पर्कमा भने विमानस्थलले पेनाल्टी रकम छुट दिनैपर्ने अडान शाक्यको थियो।

एअर एसिया कम्पनीले विमानस्थल कार्यालयलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ, पार्किङ शुल्क, सुरक्षा शुल्क, काउन्टर शुल्क लगायत शुल्क बुझाउनु पर्दछ।

त्यसैगरी अन्तर्राष्ट्रिय उडान भर्ने एयर एसिया कम्पनीले नेपालबाट बाहिर जाने विदेशी नागरिकसँग टिकट काट्दा प्रतिपर्यटक एक हजार शुल्क थप उठाएर नेपाल पर्यटन बोर्डलाई बुझाउनुपर्दछ । उक्त रकम बोर्डलाई बुझाउनुपर्ने सात करोड रुपैयाँभन्दा बढी रकम पनि एअर एसियाले बुझाएको छैन।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार सात करोड २३ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । विगतका वर्षबाटै एअर एसियाले पर्यटक शुल्कवापतको रकम नतिरेपछि बोर्डले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ताकेता गर्दै आएको थियो । एअर एसियाले नेपाल छाडेपछि पनि बोर्डले बक्यौता उठाउन प्राधिकरणलाई नै पत्रचार गरेको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार भने बोर्ड तथा विमानस्थलको बक्यौता रकम उठाउनका लागि प्रयास भइरहेको छ । ‘सुरुमा कार्यालयमार्फत नै प्रयास गर्दछौं,’ उनले भने, ‘अन्य माध्यमबाट उठाउन नसकिएको मलेसियाको प्राधिकरणलाई पत्रचार गरेर बक्यौता उठाउन सहयोग मागिनेछ ।’ उनका अनुसार यसअघि पनि एअर एसियाले बक्यौता नतिरेपछि प्राधिकरणलाई नै पत्राचार गरेर सहयोग मागिएको थियो । त्यसपछि भने एअर एसियाले किस्ता किस्ता गरेर बक्यौता रकम घटाउँदै गएको थियो । एअर एसियाले क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सातामा चारवटा उडान गर्दै आएको थियो।

प्रकाशित: १४ कार्तिक २०७५ ०५:०० बुधबार

एअर_एसिया उडान मलेसियन_कम्पनी