अर्थ

व्यापार घाटा दुई महिनामै रु २१७ अर्ब: राष्ट्र बैंक

स्राेतः नेपाल राष्ट्र बैंक

काठमाडौं– मुलुकको व्यापार असन्तुलन व्यापकरुपमा बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो २ महिनाको आर्थिक स्थितिको तथ्यांकले आयात ३८.५ प्रतिशतले बढेर दुई खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ पुगेको देखाएको छ।

यस अवधिमा निर्यात भने ८ प्रतिशतलेमात्र बढेर १४ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको देखाएको छ । अगिल्लो आवको सोही अवधिमा आयात वृद्धि १२.६ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार कूल वस्तु व्यापार घाटा ४१.२ प्रतिशतले विस्तार भई २ खर्ब १७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.१ प्रतिशत रहेको थियो। 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३८.९, चीनबाट १३.२ र अन्य मुलुकबाट भएको आयात ५५.२ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, एम.एस. बिलेट, सवारीसाधन तथा पार्टपुर्जा, अन्य उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ सम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ।

गन्तव्यका आधारमा भारततर्फ १३.६, चीनतर्फ ११.४ र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, दन्तमञ्जन, लत्ताकपडा, जुसलगायत वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैँची, पश्मिनालगायत वस्तुको निर्यात घटेको छ। 

रेमिट्यान्स भने सकारात्मक

समीक्षा अवधिमा रेमिट्यान्स  आप्रवाहमा भने उल्लेख्य सुधार आएको देखाएको छ। गत साउन र भदौमा यस्तो आय ३३.४ प्रतिशतले वृद्धि भई १५४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतलेमात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । ०७४ साउन भदौमा यस्तो आप्रवाह ५.२ प्रतिशतलेमात्र बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । 

 

प्रकाशित: १३ कार्तिक २०७५ १३:५६ मंगलबार

व्यापार_असन्तुलन घाटा नेपाल_राष्ट्र_बैंक