अर्थ

सिमेन्टको क्लिंकरमा ७३ प्रतिशत भन्सार

वीरगन्ज भन्सार नाका भएर क्लिंकर भित्रिँदै। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - सरकारले सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकरमा भन्सार महसुल र मूल्य अभिवृद्धि कर गरी करिब ७३ प्रतिशत राजस्व असुलेको छ । यसले तयारी सिमेन्टको मूल्यमा असर परेको छ।

कच्चा पदार्थ आयातमा भन्सार महसुल दर उच्च भएर सिमेन्टको मूल्य आकासिंदा उपभोक्ता मारमा परेका छन् । प्रमुख नाका वीरगन्जबाट भित्रिने क्लिंकरको भाउ प्रतिमेट्रिक टन चार हजार पाँच सय रुपैयाँसम्म पर्ने सिमेन्ट उद्योगीसमेत रहेका आयातकर्ता बताउँछन् । प्रतिमेट्रिक टन दुई हजार चार सय रुपैयाँका दरले भन्सार महशुल लाग्ने गरेको वीरगन्ज भन्सारका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । यो रकम भनेको क्लिंकरको मूल्यको ५३.३३ प्रतिशत हुन आउँछ।

आयातित क्लिंकरको मूल्य र त्यसमा लाग्ने भन्सार महशुल जोड्दा आउने अंकमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (मूअक) लाग्ने गरेको उनले बताए । क्लिंकरको मूल्य र त्यसमा लाग्ने भन्सार महसुल जोड्दा भ्याट लाग्ने अंक ६ हजार नौ सय रुपैयाँ पर्न जान्छ । त्यसको १३ प्रतिशत र भन्सार महशुल गरी प्रतिटन क्लिंकर आयातमा तीन हजार दुई सय ९७ रुपैयाँ अर्थात मूल्यको करिब ७३ प्रतिशत राजस्व लाग्छ।

धेरैजसो औद्योगिक कच्चा पदार्थमा भन्सार महशुल न्यून छ । कच्चा पदार्थमा पाँचदेखि २० प्रतिशत भन्सार महसुल रहेका बेला क्लिंकरमा भने उच्च दरको भन्सार तोकिएको छ । भौतिक पूर्वाधार निर्माणको प्रमुख वस्तु सिमेन्टको कच्चा पदार्थमा उच्च महशुलले तयारी सिमेन्टको मूल्य आकासिदा त्यसको असर भौतिक विकासमा परिरहेको निजी क्षेत्रको विश्लेषण छ । निर्माण कार्यमै प्रयोग हुने फलामको कच्चा पदार्थमा पाँच प्रतिशत मात्र राजस्व छ । अरु वस्तुको कच्चा पदार्थभन्दा सिमेन्ट बनाउने क्लिंकरमा भन्सार महशुल अत्यधिक रहेको श्री सिमेन्ट्स इन्डस्ट्रिजका सञ्चालक अनिल अग्रवालले बताए।

क्लिंकरमा उच्च दरको महशुलका कारण तयारी सिमेन्टको मूल्य बढी पर्न जाने उद्योगीको भनाइ छ । ‘क्लिंकर सिमेन्टको मुख्य कच्चा पदार्थ हो, यसमा लागिरहेको चर्को भन्सार महशुलले उत्पादन लागत बढी परिरहेको छ,’ नारायणी सिमेन्ट उद्योगका निर्देशक सतिष चचानले भने, ‘सिमेन्टको मूल्य लागतले नै निर्धारित हुने हो ।’ स्वदेशमा पर्याप्त क्लिंकर उत्पादन हुन नसकेको अवस्थामा वीरगन्ज करिडोरका १३ सिमेन्ट उद्योग लगभग आयातित क्लिंकरमा नै निर्भर छन् । सरकारले स्वदेशी खानी उद्योगको संरक्षणका नाममा राजस्व उच्च बनाएको उद्योगीको बुझाइ छ।

ढुवानी खर्च पाँच गुणा
क्लिंकर सीमावर्ती सहर रक्सोलमा रेलबाट मगाएर त्यहाँबाट नेपाल भित्र्याउने अवस्थामा अवरोध भएपछि नेपाली सिमेन्ट उद्योगले आयातित क्लिंकरको ढुवानीमा पाँच गुणाभन्दा बढी खर्च गर्नुपरेको छ।

रक्सोलमा क्लिंकरको धुलोले प्रदुषण भयो भन्दै स्थानीयले आन्दोलन गरेका थिए । बिहार उच्च अदालतले रक्सोल स्टेसनमा क्लिंकरको धुलो नियन्त्रण गर्ने संरचना बनाएर रेलबाट क्लिंकर ल्याउन भारतीय रेल्वेको नाममा आदेश दिएको छ । आदेशपछि रेल्वेले रक्सोलमा क्लिंकर ल्याउन दिएको छैन । मुजफरपुर नजिक रहेको नारायणपुर रेल्वे स्टेसनमा अर्थात रक्सोलभन्दा करिब एक सय १५ किलोमिटर टाढाबाट अनलोड गरी नेपाली उद्योगले त्यहाँबाट ट्रकमा क्लिंकर मगाउने गरेका छन्।

‘सिमेन्टको मूल्य बढ्नुमा भन्सार महशुलपछि क्लिंकरको ढुवानी खर्च पनि एउटा प्रमुख कारण हो,’ चचानले नागरिकलाई भने, ‘रक्सोलबाट क्लिंकर ल्याउदा भारतीय रुपैयाँ दुई सय ५० अर्थात नेपाली चार सय रुपैयाँ प्रतिटन खर्च लाग्थ्यो, अहिले दुई हजार रुपैयाँ पर्दैछ । यो भनेको पहिलेको भन्दा प्रति टन एक हजार ६ सय रुपैया बढी हो।’

स्वदेशी खानीबाट सिमेन्ट उद्योगहरुलाई चाहिए जति कच्चा पदार्थ स्वदेशी खानीबाट आपूर्ति हुन सकेको छैन । खानीहरु ओगटेर बसेकाहरुले एकातिर कच्चा पदार्थ उत्पादन गरेका छैनन् भने सिमेन्ट बनाउने उद्योगहरुले बाहिरबाट कच्चा पदार्थ मगाउनु पर्ने बाध्यता रहेको सिमेन्ट उद्योगीहको गुनासो छ।

सरकारले भने समास्या समाधानको साटो क्लिंकरबाट अधिक राजस्व असुल्ने गरेको छ । उच्च राजस्व दिने वस्तुको सूचीमा क्लिंकर अग्रस्थानमा पर्दछ । आयातकर्ताले भारतका विभिन्न स्थानबाट क्लिंकर आयात गर्छन् । स्वदेशका क्लिंकर उत्पादकलाई संरक्षणका निम्ति लागू गरिएको भनिएको नीतिको दुरुपयोग भइरहेको उद्योगीको दाबी छ।

प्रकाशित: १२ कार्तिक २०७५ ०६:०५ सोमबार

सिमेन्ट भन्सार