अर्थ

घरायसी र मृत्युपछिको सेयर नामसारी देशैभरीबाट

काठमाडौं – घरायसी तथा मृत्युपछिको सेयर नामसारी कार्य सहज बनाउँदै देशैभरीबाट हुने भएको छ। धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावली २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज र व्यापक गरिएको हो।

घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्वन्धमा बोर्डले स्वीकृत गरेको विनियमावलीमा भौतिक, अभौतिक धितोपत्रको घरायसी नामसारी गर्न र मृत्युपश्चातको धितोपत्र नामसारी गर्न सम्बन्धित निवेदकले विनियमावलीमा तोकिए बमोजिमको फारम भरी निक्षेप सदस्यकहाँ सम्बन्धित कागजातसहित निवेदन दिनुपर्ने पर्ने व्यवस्था गरिएको छ।

निवेदन प्राप्त भएपछि निक्षेप सदस्यले त्यस्तो निवेदन तथा संलग्न कागजात रुजु गरी सिडिएससीको प्रणालीमा पेस गर्नुपर्ने छ।

निक्षेप सदस्यले प्रणालीमा पेस गरेपछि प्रणालीबाट उपलब्ध हुने विवरण सहित निवेदन तथा संलग्न सम्पूर्ण कागजात आवश्यक कारवाहीका लागि सिडिएससीमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

निक्षेप सदस्यबाट प्राप्त हुन आएको निवेदन तथा कागजातको आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा सिडिएससीले निवेदन बमोजिम धितोपत्रको हस्तान्तरण यथाशीघ्र गरी दिनुपर्ने छ।

धितोपत्र धनीको मृत्युपश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरणका लागि अन्य कसैको दाबी भए त्यस्तो दाबी गर्न आउनका लागि सिडिएससीको वेबसाइटमा ३५ दिनको म्याद दिई सूचना प्रकाशित गर्नुपर्ने छ।

धितोपत्र धनीको मृत्युपश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरण गर्दा सो धितोपत्रसँग सम्बन्धित बोनस तथा लाभांश लगायतका लाभहरु समेत हकवालाको नाममा हस्तान्तरण हुने व्यवस्था गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

हाल बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा तिनका शाखामार्फत देशैभरीबाट डिपी सेवा प्रदान भइरहेकोमा उक्त व्यवस्थाबाट सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया अत्यन्त सरल, सहज तथा व्यापक भई लगानीकर्ताहरु लाभान्वित हुने बोर्डको दाबी छ।

विगतमा सूचीकृत धितोपत्रको कारोबार, राफसाफ तथा नामसारी लगायतको तीनवटै काम नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले गर्ने गरेको र सोही वमोजिम सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी कार्यसमेत नेप्सेको सिफारिसमा सम्बन्धित सूचीकृत कम्पनीबाट हुने गरेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडको स्थापनापछि धितोपत्रको राफसाफ तथा नामसारी कार्य उक्त कम्पनीबाट हुने गरे पनि घरायसी तथा मृत्यु नामसारी कार्य नेप्सेले नै गर्दै आइरहेको थियो । सिडिएसीले धितोपत्रको राफसाफ तथा नामसारी कार्य स्वचालित प्रणालीमार्फत गरिरहेको एवं धितोपत्रको अभौतिकीकरण भएपछि घरायसी तथा मृत्यु नामसारीसम्बन्धी कार्य नेप्सेले गर्दा धेरै समय लाग्ने, अनावश्यक झन्झट बेहोर्नुपर्ने लगायत विविध कठिनाइ सेयरधनीले बेहोरिरहेको तथा यस सम्बन्धमा बोर्डमा समेत गुनासा आइरहेको बोर्डले जनाएको छ।

यसरी साबिकमा भौतिक सेयरको घरायसी तथा मृत्यु नामसारी नेप्सेले गर्दै आएकोमा धितोपत्रको अभौतिकीकरण पश्चात यस सम्बन्धमा उत्पन्न अन्योल, कठिनाइ एवं गुनासो समेतलाई सम्बोधन गर्न आवश्यक देखिएकोले बोर्डले नेप्से र सिडिएसीलाई यस सम्बन्धमा आवश्यक व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही बमोजिम सिडिएसीबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा संशोधन प्रस्ताव गरी स्वीकृतिका लागि बोर्डमा पेस भएको थियो । उक्त प्रस्तावित संशोधनमा बोर्डबाट पटक–पटक पुनरावलोकन गरी आवश्यक सुधार गरि अन्तिम रुप दिइएको विनियमावलीको तेस्रो संशोधन प्रस्ताव बोर्डबाट हालसालै स्वीकृत भएको हो।

प्रकाशित: ११ कार्तिक २०७५ ०४:१० आइतबार

सेयर धितोपत्र