अर्थ

विद्युतीकरणको काम सुरु

बाँकेको नरैनापुरमा २० वर्षअघि गाडिएका विद्युत् पोल । तस्बिरः केशव राना/नागरिक

कोहलपुर – सुगम जिल्लाको दुर्गम ठाउँ मानिने बाँकेको राप्तीपारि बघौडा क्षेत्रमा विद्युतीकरणको काम सुरु भएको छ। वर्षौंदेखि अलपत्र परेको ३३ केभिए कोहलपुर–धामपुर विद्युत् प्रसारण लाइनको काम सुरु भएको हो।

कोहलपुर–धामपुर प्रसारण लाइन विस्तार गरेर राप्तीपारि पुर्याउन ‘श्रीम उष्मा–गुरओम–धुलिखेल जेभी’ले २०६६ पुस ३ गते र बघौडा क्षेत्रका साबिक ६ गाविससहित बैजापुर, बिनौना र फत्तेपुरमा विद्युतीकरण गर्न ‘उष्मा–गौरी पार्वती जेभी’ले २०६९ चैत २१ गते ठेक्का सम्झौता गरेका थिए । तर, ठेकेदारले वन क्षेत्र अवरोधका रूपमा रहेको भन्दै काम रोकेको थियो।

विद्युतीकरणका लागि वन क्षेत्रको जग्गा प्रयोगको भोगाधिकार दिने र रुख हटाउने विषयमा गत साउन तेस्रो साता सम्झौता भएपछि विद्युतीकरणको बाटो खुलेको हो । सोमबार प्रतिनिधिसभा सांसद महेश्वर गहतराज र प्रदेश सभा सांसद कृष्णा केसीले संयुक्तरूपमा विद्युतीकरण कामको उद्घाटन गरे।

विद्युतीकरणका लागि राप्तीसोनारी–५ स्थित राप्तीपीडित सामुदायिक वन र समय भवानी सामुदायिक वनका गरी दुई सय १४ रुख कटान हुनेछन् । २.२ हेक्टर क्षेत्रफल भोगाधिकार दिइएको छ । यसकोे दूरी ५.३ किलोमिटर छ । एक रुख कटान बराबर २५ रुख लगाइने जिल्ला वन डिभिजन कार्यालयका निमित्त प्रमुख गणेशबहादुर खड्काले जानकारी दिए । ‘विद्युतीकरणका लागि रुख कटानकोे प्रक्रिया २०७० सालदेखि नै थालिएको थियो,’ उनले भने, ‘तर फाइल विभागमै हराउने गरेको थियो, अहिले भने सरकारको क्याबिनेटले नै निर्णय गरेपछि सहज भयो।’

वर्षौंपछिको सपना पूरा हुन लागेको राप्तीसोनारी–५ का वडाध्यक्ष झग्रु थारुले बताए । उनले विद्युतीकरणको काममा अवरोध नगर्न पनि सबैमा अनुरोध गरे । विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका निमित्त प्रमुख गणेशदत्त भट्टले चैत मसान्तसम्म बिजुली बल्ने बताए । उनले वातारणीय प्रभाव मूल्यांकनमा ढिला भएकाले विद्युतीकरणको काम पनि ढिलो भएको बताए । उनका अनुसार रुख कटानलाई पूर्ति गर्न अन्य ठाउँको २.२ हेक्टर क्षेत्रफलमा नयाँ वन बनाइनेछ।

बघौडा क्षेत्रमा २० वर्षअघि गाडिएका पोल अहिले पनि त्यसै ठडिएका छन् । समयमै विद्युतीकरणको काम नहुँदा नरैनापुरवासी र राप्तीसोनारीका केही वडामा अझैं बिजुली पुगेको छैन । विद्युत् नपुग्दा सिँचाइ, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुविधाबाट वञ्चित हुनुपरेको छ।

विद्युतीकरणको काम सुरु भएसँगै विकासको ढोका खुलेको प्रतिनिधि सभा सांसद महेश्वर गहतराजले बताए । विकासका लागि विद्युत्, सडक र शिक्षा अन्तर्निहित हुने भएकाले अब बघौडा क्षेत्र पनि विकासको पहुँचमा पुग्ने उनको भनाइ छ।

ठेकेदारले वनलाई अवरोध देखाएर काम रोकेकाले अब बहाना नचल्ने प्रदेशसभा सांसद कृष्णा केसीले बताइन् । ‘अब ठेकेदारको कुनै पनि बहाना चल्दैन,’ उनले भनिन्, ‘बिजुली नपुगेका राप्तीसोनारीका केही वडा र बघौडाका मुख्य लाइनमा चैतभित्रै बिजुली बल्नेछ।’

प्रकाशित: ७ कार्तिक २०७५ ०६:४९ बुधबार

दुर्गम_ठाउँ विद्युतीकरण बघौडा