अर्थ

गौरीफन्टामा नेपाली ग्राहकको भीड

धनगढी – मालसामान किनमेलका लागि सीमावर्ती गौरीफन्टा नजिकको वनगाउँ बजारमा यतिबेला नेपाली ग्राहकको भीड लागेको छ । धनगढी लगायतका बजार क्षेत्रमा यतिबेला किराना र लत्ता कपडाको मूल्य चर्को वृद्धि भएको भन्दै केही सस्तो मूल्यमा सामान पाइने विश्वासमा गौरीफन्टा पुग्नु परेको उपभोक्ताहरूले बताएका छन्।

सीमा क्षेत्रमा भेटिनुभएकी धनगढीकी कलावती भट्टले प्रश्न गर्नुभयो– “धनगढीमा किरानाका सामान र कपडालगायतको मूल्य गत वर्षभन्दा निकै चर्को भएको छ, यस्तो महङ्गाइमा गरीबले कसरी चाडपर्व मनाउने ?”

गौरीफन्टा वनगाउँ जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली नै हुने गरेको त्यहाँका व्यापारीको भनाइ छ । सामान किनमेल गरेर फर्किने नेपालीले सीमामा बेलाबखत दुर्व्यवहार झेल्नु परेकोमा पछिल्लो समय यो प्रवृत्तिमा केही कमी आएको नेपाली ग्राहक बताउँछन्।

‘सीमामा पहिलेको जस्तो हुने ज्यादति रोकिएको छ,’ सीमामा भेटिएका कैलाली गोदावरी नगरपालिकाका रामदिन चौधरीले भने, ‘सीमाबाट धनगढी बजारसम्म आउने विद्युतीय रिक्साले भने मनपरी भाडा लिइरहेका छन्, रोक्ने पहल कसैले गरेका छैनन् ।’ गौरीफन्टाको वनगाउँमा हिजोआज दैनिक हजारभन्दा बढी नेपाली किनमेलका लागि जाने गरेको अनुमान छ।

गौरीफन्टाको वन क्षेत्रमा करिब सय वर्षअघि बजार स्थापना भएको थियो । पछिल्लोपटक भारतीय वन विभागले त्यहाँका व्यापारीलाई वन क्षेत्र खाली गर्न आदेश दिएपछि ती व्यापारीले नजिकैको वनगाउँमा गएर बजार स्थापना गरेका हुन्।   (रासस)

प्रकाशित: ३० आश्विन २०७५ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App