अर्थ

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले दियो थप ५ करोड

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाकै खर्चमा गर्ने बताएका छन्। यसका लागि महानगरले थप ५ कराेड रुपैयाँ काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरेको छ। 

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर शाक्यले काष्ठमण्डप पुनर्निर्माण समितिलाई पाँच करोडको चेक हस्तान्तरण गरे। उनले बाँकी रकम विस्तारै दिँदै जाने प्रतिबद्धता समेत जनाए। 

मेयर शाक्यले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

काष्ठमण्डप पुनर्निर्माणका लागि करिब १८ करोड लाग्ने भन्दै मेयर शाक्यले सो रकम कसैसँग पनि सहयोग नमाग्ने स्पष्ट पारे। काष्ठमण्डप पुनर्निर्माण तीन तलाको हुने छ। 

मेयर शाक्यले आगामी असार मसान्तासम्ममा कम्तीमा एक तला पुनर्निर्माणको काम सम्पन्न गर्ने दाबी पनि गरे। ‘हामी आगामी असार मसान्त सम्ममा कम्तीमा एक तल्ला पुनर्निर्माण सम्पन्न गर्नेछौं’, चेक हस्तान्तरणपछि मेयर शाक्यले भने, ‘काठमाडौं हनुमानढोका दरबार क्षेत्र संघीय राजधानीमा रहेको ऐतिहासिक सांस्कृतिक नगरी हो। मुलुककै सर्वाधिक सम्पदास्थलहरु रहेको यो क्षेत्रको संरक्षण गर्नु हामी सबैको दायित्व पनि हो।’ 

उनले काष्ठमाण्डप पुर्ननिर्माणका लागि कसैसँग सहयोग नमाग्ने पनि दाबी गरे। धेरैले सहयोगका लागि तत्परता देखाए पनि आफूहरुले स्वीकार नगरेको उनको भनाई छ। कार्यक्रमा बोल्दै अब महानगरपालिका भित्रका सबै वडाले गरेका गतिविधि सार्वजनिक गर्दै जाने पनि उनले दाबी गरे। ‘सुरुका केही महिना हामीलाई काम गर्न केही असजिलो भयो,’ उनले भने, ‘अब यो वर्षलाई हामीले पुनर्निर्माण र पूर्वाधार वर्षका रुपमा लिएका छौँ। धैरै कामले पूर्णता पाउनेछन् तपाईँहरु ढुक्क हुनुहोला।’ 

कार्यक्रममा वडा नम्बर २४ का वडाध्यक्ष मचाराजा महर्जनले पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा रहेकाले पुनर्निर्माणमा केही तालमेल नमिलेको भन्दै त्यहाँबाट स्वीकृति भए कामले गति लिने बताए।  हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका सदस्य समेत रहेका महर्जनले आगामी दिनमा कुमारीघर पुनर्निर्माण लगायतले पनि गति लिने दाबी गरे।  

कार्यक्रममा शाक्यसँगै वडा नम्बर १९,२०,२३,२४ का वडाध्यक्ष, प्रशासकीय प्रमुख, प्रशासन विभाग प्रमुख, कानुन महाशाखा प्रमुख र कार्यक्रम संयोजक गरी ९ जनाको समिति रहेको छ। समितिले २०७२ सालको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भएका सम्पदा पुर्ननिर्माण, जिर्णोद्धार र मर्मत–सम्हारको कामलाई अघि बढाउँदै आएको छ। 

प्रकाशित: २७ आश्विन २०७५ ११:०८ शनिबार

काठमाडौं_महानगरपालिका काष्ठमण्डप_पुनर्निर्माण