अर्थ

अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरको छुट्टै कम्पनी

काठमाडौं - निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्न छुट्टै कम्पनी स्थापना गरी त्यसको ७० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय उडानमा बढी जोखिम हुने भएकाले बुद्ध एयरले सर्वसाधारणबाट ७० प्रतिशत सेयर उठाएर आफ्नो जोखिम न्यूनीकरण गर्न  चलाखीपूर्ण निर्णय गरेको हो। अहिले पर्याप्त नाफामा रहेको बुद्ध एयरको आन्तरिक उडानमा भने कम्पनीले सर्वसाधारणलाई एक प्रतिशत पनि सेयर दिने छैन।

कम्पनी २२ वर्ष प्रवेश गरेको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले छुट्टै कम्पनी खोलेर अन्तर्राष्ट्रिय उडानमा जाने घोषणा गरे। ‘अन्तर्राष्ट्रिय उडानका लागि हामीले छुट्टै कम्पनी खोल्ने र त्यसको ७० प्रतिशत सेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेका छौं,’ बस्नेतले भने ‘३० प्रतिशत सेयर भने बुद्ध एयरका नाममा हुनेछ।’ उनले नाफामा रहेको बुद्धको आन्तरिक उडानमा भने सेयर जारी गर्ने कुनै कार्यक्रम नभएको जानकारी दिए।

उनका अनुसार बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेकोे छ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनासाथ बुद्धले चीन र भारतमा उडान गर्ने बस्नेतले जानकारी दिए। उनका अनुसार ‘बोइङ ७३७ म्याक्स’ सिरिजका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्नेछ।

सम्मेलनमा फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरमा उत्पादित ‘एटिआर७२–५००’ र ‘एटिआर४२–३२०’ सिरिजका जहाज नै प्रयोग गरिने उनले बताए।

कार्यक्रममा फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरको पूर्वी देश हेर्ने बिक्री तथा सेवा प्रमुख बिल्ली ओले नेपालको प्रमुख आन्तरिक वायुसेवा बुद्ध एयरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

आन्तरिक उडान क्षेत्रमा बुद्धले ५२ प्रतिशत ओगट्न सफल भएको उनले दाबी गरे । बुद्धले वार्षिक १५ लाख यात्रुलाई उडाउने गरेको छ।

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन्।

हाल बुद्धले नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ। ‘माउन्टेन फ्लाइट’ र ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ। त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ।

प्रकाशित: २५ आश्विन २०७५ ०१:१० बिहीबार

वायुसेवा_कम्पनी बुद्ध_एयर