अर्थ

प्रदेश १ का १९ स्थानीय तहमा अझै पुगेन बैंक

विराटनगर– प्रदेश १ का  १९ स्थानीय तहमा अझै बैंक पुग्न सकेको छैन्। नेपाल राष्ट्र बैंकले मंगलबार विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा प्रदेश १ को  १ सय ३७ स्थानीय तहमध्ये अझै १९ स्थानीय तहमा बैंक पुग्न नसकेको जानकारी दिएको हो। 

प्रदेश १ का ५८ स्थानीय तहमा २०७४ साउन अघि नै बैंकको शाखा स्थापना भइसकेको थियो। २०७४ साउन पछि ६० स्थानीय तहमा बैंकको शाखा खुलेको राष्ट्र बैंक अनुसन्धान विभाग विराटनगरका कायम मुकायम निर्देशक हिमप्रसाद न्यौपानेले बताए। संघीय संरचनामा आर्थिक गतिविधि विषयक कार्यपत्र प्रस्तुत गर्दै न्यौपानेले शाखा नपुगेका मध्ये २ स्थानीय तहमा शाखा खोल्ने अन्तिम तयारी भइरहेको, ४ वटामा कार्यालय निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए। 
यस्तै ७ स्थानीय तहमा शाखा खोल्ने प्रक्रिया भर्खरै सुरू भएको छ। यस्तै ३ वटा स्थानीय तहमा शाखा खोल्ने प्रक्रिया नै सुरू भएको छैन भने ३ स्थानीय तहमा विभिन्न समस्याका कारण शाखा खोल्न नसकिने स्थिति रहेको राष्ट्र बैंकले जनाएको छ। 

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ६६ तहमा बैंकको शाखा पुगिसकेको छ। अझै ८७ स्थानीय तहमा बैंकको शाखा पुग्न बा“की रहेको छ। सबै भन्दा धेरै प्रदेश ७ का स्थानीय तहमा बैंकको शाखा पुग्न बा“की छ। प्रदेश ७ मा २३ स्थानीय तहमा, प्रदेश ६ मा २०, प्रदेश ३ मा ११, प्रदेश २ मा ६, गण्डकी प्रदेशमा ५,  प्रदेश ५ मा सबै भन्दा कम ३ स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी छ। 

सरकारले स्थानीय तहहरूले अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी गर्नु पर्ने व्यवस्था गरेको भए पनि बैंकको शाखा पुग्न नसक्दा कार्यान्वयनमा समस्या देखिएको छ। हाल देशभर १ सय ५२  बैंक तथा वित्तीय संस्थाले ६ हजार ७ सय १४ शाखामार्फत वित्तीय सेवा उपलब्ध गराइरहेका छन्। जसमा २८ वटा बाणीज्य बैंक,३३ विकास बैंक, २५ वित्त कम्पनी र ६५ वटा लघु वित्त वित्तीय संस्था रहेका छन्। अन्तरक्रियामा विराटनगरका बैंकर, आर्थिक विज्ञहरूलगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: २४ आश्विन २०७५ ०९:०५ बुधबार

प्रदेश_१ स्थानीय_तह बैंक