सुर्खेत - लेकबेशी नगरपालिका–९ को कालटाँडी गाउँ केही वर्षअघिसम्म अफिम खेतीका लागि प्रख्यात थियो । ३२ घरधूरीका प्रायः सबैले अफिम खेती गर्थे । हरेक वर्ष प्रहरी अफिम खेती नष्ट गर्न परिचालिन हुन्थ्यो । केही वर्ष भयो, कालटाँडी अफिम खेतीबाट तरकारी खेतीमा आकर्षित भएको छ । अहिले कालटाँडी व्यवसायीक तरकारी खेतीका लागि जिल्लामै प्रख्यात छ।
‘अज्ञानता र धेरै कमाइ हुने भएकाले यो गाउँ अफिम खेतीका लागि प्रख्यात थियो,’ स्थानीय इन्द्रबहादुर खाम्चाले भने, ‘अफिम खेती गर्नु कानुनविपरित हो भन्ने थाहा पाएपछि अहिले तरकारी खेतीतर्फ लागेका छौं ।’ यहाँका सबै घरधूरी व्यावसायिक तरकारी खेती गर्छन् । तरकारी व्यवसायीहरु गाउँमै खरिद गर्न पुग्छन्।
खाम्चाले पनि पाँच वर्षसम्म अफिम खेती गरे । ‘एक कट्ठाको ५० हजार रुपैयाँ अग्रिम दिएर जान्थे, धेरै पैसा कमाउने लोभमा त्यसतर्फ लागियो,’ उनले भने, ‘हरेक वर्ष प्रहरी आएर लगाएको अफिम नष्ट गर्न थालेपछि अहिले तरकारी खेती गर्न थालेको छु ।’ खाम्चाले १० कट्ठा जमिनमा तरकारी खेती गरेका छन् । बारीभरी प्लास्टिकका टनेल छन् । घरमै ब्रोइलर कुखुरा फर्म सञ्चालन गरेका छन् । बंगुल पालेका छन्।
‘तरकारी खेती, कुखुरा फार्म र बंगुरबाट मासिक ४० देखि ५० हजार रुपैयाँसम्मको कारोबार गर्दै आएको छु,’ खाम्चाले भने, ‘पहिले गाउँमा प्रहरी आउँदा लुक्नु पर्दथ्यो, अहिले निर्धक्कसँग व्यवसाय गरिरहेको छु।’
टोपबहादुर सोमैले आफ्ना जीवनका २१ वर्ष सवारी चलाएर बिताए । तीन वर्षअघि उनले चलाएको सवारी दुर्घटनामा प-यो । उनी घाइते भए । अहिले पनि दाँया खुट्टा राम्रोसँगै चल्दैन । गाडी चलाउँदासम्म सोमैको आम्दानी राम्रै थियो । गाउँको घर खाली गरेर उनको परिवार सदरमुकाम वीरेन्द्रनगर बस्थ्यो।
आफैंले चलाएको गाडी दुर्घटनामा परेपछि उपचारमै बचत रहेको पैसा पनि सकियो । सुविधाका लागि सहर पसेको उनको परिवार फेरि गाउँ फर्कनुप-यो । दुई वर्षअघि गाउँ फर्केका सोमै अहिले तरकारी खेतीमा व्यस्त हुन्छन् । ‘घरमा आएपछि तरकारी खेतीमा लागेको हुँ,’ बैशाखीको सहारामा गोलभेँडा स्याहार्दै गरेका सोमैले भने, ‘अहिले आम्दानी मात्रै होइन्, २४ सैं घन्टा परिवारसँग विनाउन पाएको छु, यो भन्दा अरु के सन्तुष्टि हुन सक्छ।’
सोमैको घरमा कुखुरा, बंगुर र खसी फार्म छ । ‘महिनामा खर्च कटाएर ३०–३५ हजार रुपैयाँ बचत हुन्छ, कृषि सम्बन्धी काम गर्ने संघ–संस्थाले बेलाबेलामा आएर सहयोग गर्छन्,’ उनले भने, ‘गाउँमै यातायातका साधन पुग्छन्, तरकारीका लागि बजार खोज्दै जानु पर्दैन, व्यवसायीले बारीबाटै तरकारी खरिद गरेर लिन्छन्।’
नगरपालिकाको कृषि शाखा र विभिन्न गैरसरकारी संस्थाहरुले प्रत्येक घरलाई टनेल उपलब्ध गराएका छन् । बेलाबेलामा तरकारी खेती सम्बन्धी तालिम उपलब्ध गराउँछन् । ३२ घरधूरीकै साझा समूह छ । समूहमार्फत आइपर्ने समस्याको समाधान गर्छन् । ‘बजारीकण, बाहिरबाट आउने अनुदानको काम समूहमार्फत हुन्छ,’ धनकुमारी थापाले भनिन्, ‘पहिले अफिम खेती गर्दा बदनाम थियौं, अहिले जिल्लाभर उदाहरणीय कृर्षकका रुपमा परिचित छौं।’
प्रकाशित: २२ आश्विन २०७५ ०६:४२ सोमबार