अर्थ

चारवटा एकीकृत बस्तीको योजना स्वीकृत

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजना स्वीकृत गरेको छ।

आइतबार प्राधिकरणको कार्यकारी समिति बैठकले ओखलढुंगाको मलेखु गाउँपालिका–३ फुयाल गाउँस्थित फुयालगाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडीटोलस्थित झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरेको हो । माझी बस्ती श्वेता श्री फाउन्डेसनको सहयोगमा बन्न लागेको हो।

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ गिरानचौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौंको शंखरापुर नगरपालिका–७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजना पनि प्राधिकरणले स्वीकृत गरेको छ ।  फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी,  गिरानचौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजनामा एक सय ३५ घरधुरी र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ घरधुरी बन्नेछन्।

यसैबीच, पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या तीन लाखभन्दा बढी पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार तीन लाख पाँच हजार आठ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । दुई लाख ५१ हजार पाँच सय २७ घर निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या सात लाख २६ हजार नौ सय १७ रहेको छ।
 

प्रकाशित: २२ आश्विन २०७५ ०६:४० सोमबार

राष्ट्रिय_पुनर्निर्माण_प्राधिकरण एकीकृत_बस्ती