अर्थ

कर्णाली प्रदेश : हालसम्म विकास बजेटकाे एक रुपैयाँ समेत खर्च भएन

सुर्खेत - कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको चार महिना पूरा हुन लाग्दा पनि विकास बजेटकाे एक रुपैयाँ खर्च गर्न सकेको छैन्। संरचना र कर्मचारी अभावमा चालू आर्थिक वर्षको हालसम्म विकास बजेटकाे एक रुपैयाँ समेत खर्च गर्न नसकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।‘कर्मचारीहरु अझै पनि पूर्णरुपमा भौतिक संरचना प्रदेश मातहत नआएकाले विकास बजेट खर्च गर्न सकेका छैनौ', आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने,‘अहिलेकै अवस्थालाई हेर्ने हो भने विकासका लागि छुट्याइएको बजेट पूर्ण कार्यान्वयन हुने अवस्था देखिँदैन्।’

मन्त्रालयले असार १ गते २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट सार्वजनिक गरेको थियो जसमध्ये २१ अर्ब २३ करोड ४३ लाख ४३ हजार विकास बजेट हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ को अन्तिम चौमासिकमा सार्वजनिक गरेको बजेट पनि खर्च गर्न सकेको थिएन्। भौगोलिक विकटता, संघीय सरकारले खटाएका कर्मचारी कर्णाली प्रदेशमा नआउनु र समयमै भौतिक संरचना प्रदेश सरकार मातहत नआएका कारण बजेट खर्च गर्न नसकिएको मन्त्रालयले जनाएको छ। मन्त्री ज्वालाले चालू आर्थिक वर्षको मंसिरदेखि जेठसम्मको सात महिनामा विकास बजेट पूर्णरुपमा कार्यान्वयन गर्ने दावी गरे।

‘असारे विकासलाई रोक्नका लागि जेठभित्र विकास बजेट कार्यान्वयन गरिसक्ने सरकारको लक्ष्य छ’ आइतवार पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्वालाले भने, ‘सात महिनाभित्र विकास बजेट पूर्णरुपमा कार्यान्वयन गछौं। गत साउनमा मुख्यमन्त्री कार्यालयमा भएको मन्त्रालयगत समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयले भदौ १ गतेबाट बजेट कार्यान्वयनमा लिने योजना सार्वजनिक गरेको थियो। मन्त्रालयले आफ्नै योजना र कार्यक्रम कार्यान्वयन गर्न सकेन्। मन्त्री ज्वालाले संघीय सरकारले कर्णाली प्रदेशमा खटाएका मध्ये ५० प्रतिशत कर्मचारीहरु अझै आइनपुगेको बताए। ‘कर्मचारी नआउँदा बजेट कहाँबाट खर्च गर्नु’ उनले भने, ‘भौतिक संरचनाको अभाव र कर्मचारीकै कारण विकास बजेट खर्च गर्न पाएका छैनौं।

 

प्रकाशित: २१ आश्विन २०७५ १२:४० आइतबार

कर्णाली_प्रदेश विकास_बजेट