अर्थ

अन्तर्राष्ट्रिय एक्स्पोका लागि चितवन एक्स्पो सेन्टर बुकिङ

भरतपुरमा निर्माणाधीन चितवन एक्स्पो सेन्टर। तस्बिर : सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिका–१० मा निर्माणाधीन चितवन एक्स्पो सेन्टर अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी सञ्चालन गर्न बुकिङ हुन थालेको छ। माघ र फागुन महिनामा हुने तीनवटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी गर्नका लागि एक्स्पो सेन्टर बुकिङ भइसकेको चितवन उद्योग संघले जनाएको छ। निर्माणकै क्रममा रहेको सेन्टरमा दसैंलाई लक्षित गरेर प्रथम दसैं महोत्सव आयोजना गर्ने तयारी गरिएको थियो।

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी गर्नका लागि सेन्टर बुकिङ भएपछि दसैं महोत्सव स्थगित गरिएको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी बताउँछन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक्स्पो सेन्टर तयार गर्नका लागि महोत्सव स्थगित गरिएको उनले बताए। नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो, नेपाल फर्मा एन्ड एक्स्पो र अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीका लागि सेन्टर बुकिङ भइसकेको छ।

एक्स्पो निर्माणाधीन क्रममा राष्ट्रिय औद्योगिक प्रदर्शनी, आइटी एक्स्पो, इक्यान आयोजना भइसकेको छ। चितवन उद्योग संघको अगुवाइमा घरेलु उद्योग कार्यालयको जमिनमा एक्स्पो सेन्टर निर्माण भइरहेको छ। नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य संघ चितवनलगायत संघसंस्थाको सहकार्यमा एक्स्पो सेन्टर बन्दैछ। सेन्टर निर्माणका लागि नेपाल सरकारले १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको अध्यक्ष दुवाडीले जानकारी दिए।

सेन्टर निर्माण कार्य करिब ४२ करोड रुपैयाँ लागतमा सकिने उनी बताउँछन्। २०७४ माघ जेठदेखि बनाउन सुरु गरिएको एक्स्पो सेन्टर निर्माण कार्य ९५ प्रतिशत सकिएको चितवन उद्योग संघका कार्यकारी निर्देशक हरिहर भट्टराईले जानकारी दिए। अहिले कम्पाउन्डसहितको गेमिङ जोन, फुड कोर्ट र उद्योग संघको सचिवालय बनाउने काम सुरु गरिएको छ। एक्स्पो सेन्टरमा तीनवटा छुट्टाछुट्टै आधुनिक हल निर्माण गरिएको छ। एयर कन्डिसन, आधुनिक लाइटिङ सिस्टम, सुविधायुक्त स्टलको व्यवस्था हलमा रहेको कार्यकारी निर्देशक भट्टराईले बताए।

द्युई बिघा सात कठ्ठा जमिनमा एक्स्पो सेन्टर निर्माण भइरहेको छ । भित्र पस्ने र निस्कने छुट्टाछुट्टै गेटसहित आकस्मिक गेटसमेत राखेर एक्स्पो सेन्टरलाई आधुनिक र सुरक्षित बनाइएको उनी बताउँछन् । फ्री वाइफाई सुविधा पनि एक्स्पो सेन्टरमा उपलब्ध हुनेछ । प्रत्येक हलमा अपांगमैत्री र सेन्सर जडित शौचालयसमेत निर्माण गरिएका छन् । डायमन्ड, गोल्ड, सिल्भर क्याटागोरीसहित एउटा हलमा एक सय स्टल निर्माण गरिने उनले बताए।

‘प्रदर्शनी गर्नेले प्रदर्शनी सामग्री मात्र ल्याए हुन्छ,’ उनी भन्छन्, ‘टेबल, कुर्सी, कार्पेटसहितको डेकोरेसन गरिएको स्टल उपलब्ध हुन्छ ।’ बन्दै गरेको एक्स्पो सेन्टर देशकै राम्रो र व्यवस्थित सेन्टर बन्ने संघका अध्यक्ष दुवाडी बताउँछन् । काठमाडौंमा रहेको भृकुटी मण्डपको प्रदर्शनी स्थलमात्र प्रदर्शनी गर्ने स्थान बनेकामा त्यसको विकल्पमा आधुनिक र व्यवस्थित एक्स्पो सेन्टर बनेको उनले बताए।

यसअघि जिल्लाका विभिन्न स्थान तथा उद्योग संघकै परिसरमा मेला महोत्सव आयोजना गरिँदा खुला स्थान र चौरमा गर्ने गरिएको थियो । खुला चौरमा प्रदर्शनी तथा महोत्सव गरिँदा अवलोकनकर्ताले घाम, पानी, धुवाँ, धुलो भएको वातावरणमै घुम्नुपथ्र्यो । एक्स्पो सेन्टर सञ्चालनमा आएपछि भने त्यहाँ हुने प्रद्रर्शनीमा घाम, पानी तथा धुवाँधुलोको प्रभाव नपर्ने संघका कार्यकारी निर्देशक भट्टराई बताउँछन्।

देशको मध्य भागमा रहेको एक्स्पो सेन्टरले उद्योगी व्यवसायीको व्यवसाय प्रवद्र्धन गर्नका लागि महŒवपूर्ण योगदान दिने उनको भनाइ छ । ‘औद्योगिक प्रवद्र्धनसँगै उत्पादन बढाउन र आयात घटाउन  राजस्व बढाउन रोजगारी वृद्धि गर्न योगदान गर्छ,’ उनले भने, ‘पर्यटनका विकासका लागि पनि सहयोगी बन्नेछ ।’ एउटै ठूला प्रदर्शनीसहित हलअनुसारका छुट्टै प्रर्दशनीसमेत गर्न मिल्ने गरी एक्स्पो सेन्टर निर्माण गरिएको छ।

एक्स्पो सेन्टर निर्माण अन्तर्राष्ट्रिय एक्सो हुनुअघि सक्ने तयारी गरेर काम गरिएको उनले बताए । सचिवालय, गेमिङ जोन निर्माण कार्य भने यस आर्थिक वर्षभित्र गरिने उनी बताउँछन् । अन्तर्राष्ट्रिय स्तरमा रहेका एक्स्पो सेन्टरकै ढाँचामा यो निर्माण हुँदै गरेको सेन्टरले स्वदेशीसँगै विदेशी प्रदर्शनकर्ता चितवनमा आउने उनले बताए।

प्रकाशित: २१ आश्विन २०७५ ०६:१२ आइतबार

एक्स्पो_सेन्टर