काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले पाउनुपर्ने बक्यौता रकम एक अर्ब ६९ करोड रुपैयाँभन्दा माथि पुगेको छ। ३० वटा अन्तर्राष्ट्रिय र स्वदेशी एयरलाइन्स कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने रकम नतिर्दा बक्यौता एक अर्ब ६९ करोड ६१ लाख ८३ हजार पाँच सय ४० रुपैयाँ पुगेको हो।
विमानस्थल प्रयोग गरेबापत एयरलाइन्स तथा सरकारी कार्यालयले प्रत्येक महिना शुल्क बुझाउनुपर्ने प्रावधान छ। त्यो रकम नियमित नबुझाउँदा बक्यौता चुलिएको हो । सबैभन्दा धेरै नेपाल वायुसेवा निगमले तिर्न बाँकी छ। निगमले हर्जनाबाहेक २९ करोड ४३ लाख ८३ हजार आठ सय ९६ रुपैयाँ बुझाउनुपर्ने देखिन्छ।
टिआइएका प्रवक्ता प्रताप तिवारीले निगमलाई पटक–पटक पत्राचार गरे पनि बक्यौता रकम नतिरेको बताए। ‘निगमले रकम नतिरेको धेरै भइसक्यो । निगमको रकम क्यारी गर्दै सिस्टममा ल्याएको मात्र हो,’ टिआइएका प्रवक्ता तिवारीले भने, ‘हर्जनाका लागि समेत धेरैपटक पत्राचार गरियो, रेस्पोन्स आएको छैन।’ सरकारी संस्थान भएकाले पनि बक्यौता असुलीमा समस्या भएको उनले बताए।
उनका अनुसार निगम, एयर एसिया र हिमालयन एयरलाइन्सको बक्यौता रकममा समस्या छ। सरकारी कार्यालय, संघ–संस्था लगायतले विमानस्थललाई बुझाउनुपर्ने रकम समेत समयमा नबुझाएको तिवारीको भनाइ छ।
महिना सकिनेबित्तिकै बिलिङ गरेर विमान कम्पनीको सेल्स एजेन्टलाई पत्राचार गर्दै आएको उनले बताए। केही अन्तर्राष्ट्रिय वायुसेवाले छिट्टै बुझाउने केहीले धेरथोर बुझाउने परिपाटी रहेको तिवारीको भनाइ छ।
मलेसियन वायुसेवा एयर एसियाले १४ करोड १३ लाख ७७ हजार बुझाउन बाँकी छ । उक्त रकमका लागि पटकपटक पत्राचार गरे पनि नबुझाएको टिआइएले जनाएको छ। ‘समयमै नबुझाउनेसँग जरिवाना लिने प्रावधान छ। यो प्रावधानभन्दा पनि बाहिर गएको छ एयर एसिया। अब टिआएले एयर एसियाको सिस्टमलाई पर्खंदैन,’ प्रवक्ता तिवारीले नागरिकसँग भने, ‘उसको उडान रोक्का हुन्छ। योसँगै अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीलाई समेत सचेत गराउनेछौं।’
हिमालयन एयरलाइन्सले पाँच करोड १६ लाख ९३ हजार रुपैयाँ तिरेको छैन। टिआइएले हिमालयनलाई धेरैपटक ताकेता गरेपछि चौमासिक रुपमा रकम तिर्ने पत्र आएको तिवारीले बताए।
टिआएले बिलिङ भएको १५ दिनभित्र बक्यौता रकम नबुझाए पाँच प्रतिशत जरिवाना लगाउँछ। १६ देखि ३० दिनभित्र रकम नतिर्नेले १५ प्रतिशत जरिवाना तिर्नुपर्छ। एक महिनाभित्र तिर्न नसके बिल रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने प्रावधान भए पनि कार्यन्वयनमा छैन। कतिपय एयरलाइन्सहरुले बन्द भएको दसौं वर्ष बितिसक्दा पनि बक्यौता बुझाएका छैनन्।
विमानस्थललाई विभिन्न निकायले बुझाउनुपर्ने बक्यौता दुई अर्ब ४३ करोड ३६ लाख रुपैयाँ रहेकोमा असोज १६ गतेसम्ममा ७३ करोड ७४ लाख १८ हजार रुपैयाँ प्राप्त भएको विमानस्थलले जानकारी दिएको छ। टिआइएको रिपोर्ट अनुसार सबैभन्दा कम कोरियन एयरको ३८ हजार रुपैयाँ बाँकी छ। त्यस्तै, बन्द भइसकेको फर्मबाट २८ करोड ८९ लाख ४० हजार रुपैयाँ उठाउन बाँकी छ। सरकारी कार्यालय र संघ–संस्थाबाट ५६ करोड ११ लाख ९७ हजार रुपैयाँ उठाउन बाँकी छ।
प्रकाशित: २१ आश्विन २०७५ ०१:४३ आइतबार