अर्थ

सिंहदरबार भवन भत्काउनु नपर्ने

काठमाडौं - सिंहदरबारस्थित मुख्य प्रशासनिक भवनको पश्चिमी मोहडामा प्रबलीकरण (रेट्रोफिटिङ) गर्न मिल्ने देखिएको छ । भवनको अवस्थाबारे अध्ययन गरिरहेको इन्फास्ट्रक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सलटेन्ट प्रालिले भवन भत्काउनु नपर्ने प्रारम्भिक प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बुझाएको छ।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अध्ययनको प्रारम्भिक प्रतिवेदनमा भवनलाई प्रबलीकरण गरेर जोगाउन सकिने देखिएको बताए । ‘परामर्शदाताबाट अध्ययनको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको छ,’ उनले भने, ‘प्रतिवेदनमा भवन भत्काउनु नपर्ने देखियो । भवनको धेरै भाग चर्किएको भए पनि अधिकांश इँटा राम्रै अवस्थामा पाइएको छ।’ भवनमा प्रयोग गरिएका ६८ प्रतिशत काठको अवस्था राम्रो रहेको देखिएको उनले बताए । प्राधिकरणले परामर्शदाताबाट प्राप्त प्रारम्भिक प्रतिवेदनमाथि अध्ययन गरिरहेको सहसचिव मानन्धरले जानकारी दिए । ‘अबको ९–१० दिनभित्र प्रतिवेदन अध्ययन गरेर परामर्शदातालाई आवश्यक सुझाव दिन्छौं,’ उनले भने। 

२०७२ वैशाख १२ को भूकम्पबाट जीर्ण बनेको उक्त भवन भत्काएर पुनर्निर्माण गर्ने वा प्रबलीकरण गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । यद्यपि, प्राधिकरणलगायत सरोकारवाला निकायले ऐतिहासिक महŒव बोकेको सो भवनलाई प्रबलीकरण गरेर जोगाउनुपर्नेमा जोड दिँदै आएका छन् । पछिल्लो अध्ययनबाट प्रबलीकरण गर्न मिल्ने प्रतिवेदन  प्राप्त भएसँगै भवन भत्काउनु नपर्ने लगभग निश्चित देखिएको छ। 

यसअघि सहरी विकास मन्त्रालयमार्फत गरिएको अध्ययनले उक्त भवन  भत्काएर पुनर्निर्माण गर्नुपर्ने आशयसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनकै आधारमा मन्त्रालयले भवन भत्काउने तयारी गर्दा ऐतिहासिक भवन भएकाले यसलाई जोगाउनुपर्ने आवाज उठेपछि प्राधिकरणले रोकेको थियो।

पछिल्लो अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार भवनमा प्रबलीकरण गर्न मिल्ने देखिए पनि विस्तृत प्रतिवेदन तयार भएपछि मात्र यसबारे निर्णय हुने प्राधिकरणका सहसचिव मानन्धरले बताए । गत असारमा प्राधिकरण र परामर्शदाताबीच भएको सम्झौतामा १३ महिनाभित्र प्रबलीकरणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त सम्झौता अनुसार परामर्शदाताले अबको साढे दुई महिनाभित्र परीक्षणसहितको विस्तृत प्रतिवेदन र प्रबलीकरणको डिजाइन उपलब्ध गराउनुपर्नेछ । त्यसपछिको नौ महिनामा प्रबलीकरणको काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । भवनको अध्ययन, प्रबलीकरण डिजाइन र सुपरभिजनका लागिमात्र एक करोड ७० लाख रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ। 

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको पालामा निर्मित सिंहदरबारको पश्चिमी मोहडा २०३० सालको आगलागीबाट बचेको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले गत महिना उक्त भवनको निरीक्षण गर्दै मौलिकता कायम रहने गरी पुनर्निर्माण गरिने बताएका थिए । उक्त भवनको पुरातात्विक र ऐतिहासिक महत्वलाई जोगाउने उनको प्रतिबद्धता छ।

भूकम्पबाट न्यून क्षति पुगेको उत्तरी, पूर्वी र दक्षिणी भागको भने प्रबलीकरण कार्य सुरु भइसकेको छ । शर्मा एन्ड न्यू टेक्निकल जेभीले करिब चार महिनाअघि सुरु गरेको प्रबलीकरण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २४ करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित: १८ आश्विन २०७५ ०६:४१ बिहीबार

सिंहदरबार